स्थानीय तहको चुनाव आउन अब २५ दिन मात्र बाँकी रहँदा म्याग्दीमा चुनावी सरगर्मी बढेको छ । राजनीतिक दल र नेता
गाउँमा कामको चटारो छ । गहुँ थन्क्याउने, मकै छर्ने, गोड्ने, हिउँदे तरकारी लगाउने, बार–थाँक्रा हाल्ने, सिँचाइका लागि पानीको जोहो गर्ने काममा किसान व्यस्त छन् । राजनीतिक दलका नेता चुनावी प्रसारमा घरघर पुग्न थाले पनि किसानलाई भने उनीहरुलाई भेट्न र भलाकुसारी गर्न फुर्सद छैन । “हाम्रा समस्या जस्ताका त्यस्तै छन्, सिँचाइ नभएर बाली मरेको छ, धारामा खानेपानी आउँदैन, चुनाव आउँछ, नेता आउँछन्, आश्वासन दिन्छन्, जान्छन्”, बेनी नगरपालिका–३ तोराखेतका डिलबहादुर सापकोटा भन्नुहुन्छ ।
शनिबार आँगनमा गहुँ चुट्दै गर्नुभएका सापकोटाले गाउँमा सडक र सञ्चारको विकास भए पनि कृषि क्षेत्रमा भने खासै उपलब्धि हुन नसकेको बताउनुभयो ।
“अहिले तीन तहको सरकार छ । स्थानीय सरकार हाम्रो आफ्नै सरकार हुनुपर्नेमा किसानका लागि त्यस्तो महशुस हुन सकेको छैन”, सापकोटाले भन्नुभयो, “समयमा मल बीउ पाइँदैन, सिँचाइको व्यवस्था छैन, असिना पानी, बाढीपहिरो र अन्य प्राकृतिक प्रकोपबाट बालीनालीमा क्षति पुग्दा समयमा नै उचित क्षतिपूर्ति पाइँदैन, त्यसैले चुनाव आए पनि हामीलाई कुनै रौनकले छुँदैन ।”
म्याग्दीमा एक नगरपालिका र पाँच गाउँपालिका गरी छ स्थानीय तहमा ४५ वडा छन् । बेनी नगरपालिकाको ७ र ८ नम्बर वडाबाहेक अन्य सबै पालिका र वडा ग्रामीण क्षेत्र हुन् । यहाँका ९० प्रतिशतभन्दा बढी मतदाता ग्रामीण क्षेत्र र कृषि पेशासँग आबद्ध छन् ।
किसानलाई चुनावप्रति वितृष्णा जाग्नुका कारण कामको व्यस्तता मात्रै नभएर कृषि र कृषकका हितका लागि विगतमा नेताले दिएको आश्वासन पूरा गर्न नसक्नु पनि भएको रघुगङ्गा गाउँपालिका–४ का चित्रबहादुर पुर्जाले बताउनुभयो ।
किसानलाई चुनावकोभन्दा बढी चिन्ता गहुँबाली भित्र्याउने, मकै छर्ने, गोडमेल गर्ने र कतैकतै चैते धान रोप्नेको छ । उनीहरुले आफूहरुका लागि कामभन्दा ठूलो चुनाव नहुने बताएका छन् । बगरफाँटका कृषक टीकाबहादुर कार्की भन्नुहुन्छ, “समय भयो भने भोट हाल्न जानुपर्ला तर, भाषण सुन्ने र उनीहरु नेतासँग हिँड्ने फुर्सद मलाई छैन ।”
“अधिकांश मतदाता गाउँमा छन्, गाउँमा कामको चटारो छ, हामी किसानका खेतबारीमा नै गएर आफ्ना कुरा सुनाउँछौँ, केही दिनपछि काम पनि कम होला र प्रचार अभियानले पनि गति लेला”, कार्कीले भन्नुभयो ।
प्रतिक्रिया