×

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने

images

सरकारले यही वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय भिटामिन कार्यक्रमअन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ तथा १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकाकालाई जुकाको औषधि खुवाउने तयारी गरेको छ । भिटामिन ‘ए’ क्याप्सुल २७ लाख बालबालिका तथा जुकाको औषधि २४ लाख बालबालिकालाई खुवाइने परिवार कल्याण महाशाखा, पोषण शाखा प्रमुख लिलाविक्रम थापाले जानकारी दिनुभयो । 

भिटामिन ‘ए’ क्याप्सुल सन् १९९३ देखि र भिटामिन ‘ए’सँगै जुकाको औषधि सन् २००१ देखि खुवाउन थालिएको हो । उहाँका अनुसार भिटामिन ‘ए’ कार्यक्रमका लागि ५२ हजार स्वास्थ्य स्वयंसेविका र १५ हजार  स्वास्थ्यकर्मी परिचालन गरिने छ । उक्त कार्यक्रमका लागि रु ६ करोड ७२ लाख बजेट बिनियोजन गरिएको उहाँले बताउनुभयो । 

वर्षमा दुई पटक पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गरिन्छ । मन्त्रालयले नजिकैको वितरण केन्द्रमा गई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन अभिभावकलाई आग्रह गरेको छ । 

सोमबार ५ बैशाख २०७९ ०८:२८ PM मा प्रकाशित

प्रतिक्रिया