काठमाडौं । वाणिज्य बैंकहरूले पुस महिनाका लागि निक्षेपको ब्याजदर सार्वजनिक गरेका छन् । पुसका लागि बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश वाणिज्य बैंकहरुले पुस महिनाको लागि मंसिर महिनाकै मुद्दती निक्षेपको ब्याजदरलाई निरन्तरता दिएका छन् । केही बैंकले थोरै ब्याज बढाएका छन् भने कतिपयले घटाएका छन् ।
पुस महिनाका लागि नेपाल बैंक र एनआईसी एशिया बैंकले निक्षेपको ब्याजदर घटाउँदा कृषि विकास बैंक, प्राइम कमर्सियल बैंक र एनएमबि बैंकले भने बढाएका छन् । यता लक्ष्मी सनराइज बैंक, कुमारी बैंक, सिटिजन्स बैंक, ग्लोबल आईएमई बैंक, सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक, नेपाल एसबीआई बैंक, एभरेष्ट बैंक, प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक, स्ट्याण्डर्ड चार्टर्ड र हिमालयन बैंकले मंसिरकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।
बैङ्कहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार नेपाल बैंकले ०.३५ प्रतिशत र एनआईसी एशिया बैंकले ०.१९ प्रतिशतले व्यक्तिगत निक्षेपको ब्याजदर घटाएका छन्। कृषि विकास बैंकले ०.०३३७ प्रतिशत, प्राइम कमर्सियल बैंकले ०.५ प्रतिशत र एनएमबि बैंकले भने १.०३ प्रतिशतले ब्याजदर बढाएका छन् । यस्तै, व्यक्तिगततर्फको मुद्दती निक्षेपको अधिकतम ब्याजदर ५.५३६३ लाई बढाएर ५.५७ प्रतिशत पुर्याएको छ ।
एनएमबि बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फको अधिकतम ब्याजदर ५.५७ प्रतिशतबाट बढाएर ६.६ प्रतिशत पुर्याएको छ । यस्तै, संस्थागततर्फको ब्याजदर ४.५७ प्रतिशतबाट बढाएर ५.६ प्रतिशत पुर्याएको छ । यस्तै प्राइम कमर्सियल बैंकले पुस महिनाको लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ ३ देखि ६ महिनाको ब्याजदर ५.५० प्रतिशत, ६ महिनादेखि १ वर्षसम्मको ब्याजदर ५.७५ प्रतिशत, १ वर्षे अवधिको ब्याजदर ६ प्रतिशत र १ वर्षभन्दा बढी अवधिको मुद्दति निक्षेपको ब्याजदर ६.२५ प्रतिशत तोकेको छ ।
एनआईसी एशिया बैंकले मंसिरको तुलनामा पुसमा निक्षेपको ब्याजदर घटाएको छ । व्यक्तिगत मुद्दती निक्षेपतर्फ मंसिरमा रहेको ६.७९ प्रतिशतको अधिकतम ब्याजदरलाई घटाएर पुसमा ६.६ प्रतिशतमा झारेको हो । यस्तै, संस्थागतको ५.७९ प्रतिशतलाई घटाएर ५.६ प्रतिशतमा झारेको छ । नेपाल बैंकले ५.९५ प्रतिशत अधिकतम रहेको व्यक्तिगत मुद्दतीतर्फको ब्याजदर घटाएर ५.६ प्रतिशतमा सीमित गरेको छ भने संस्थागततर्फको ४.९५ प्रतिशतलाई घटाएर ४.७ प्रतिशतमा झारेको छ ।
प्रतिक्रिया