×

यज्ञमती र चखुँचा खोलाको बहाव क्षेत्र छुट्याइँदै

images


काठमाडौँ, ३१ साउन काठमाडौँ महानगरपालिकाको नेतृत्वमा गोकर्णेश्वरको यज्ञडोल क्षेत्रबाट बगेर आउने यज्ञमती र चखुँचा खोलाको बहाव क्षेत्र छुट्याउने कामले तीव्रता पाएको छ ।

काठमाडौँ उपत्यकामा बस्ती बढेसँगै विसं २०६० पछि यस क्षेत्रका दुवै नदी पुरेर घर बनाउन थालिएको स्थानीयवासी चुडामणि कोइरालाले जानकारी दिनुभयो ।

तत्कालीन कपन गाविसका जननिर्वाचित पूर्व पदाधिकारी एवं सबै राजनीतिक दलका नेतृत्वको सहमतिमा नदी पुरिएको उहाँले बताउनुभयो । नदी पुरेर ढल विच्छ्याएसँगै बाढीले कपन एवं काठमाडौँ महानगरपालिका–६ स्थित सरस्वतीनगर र वडा नं ७ को चावहिल क्षेत्रका केही बस्ती डुबानमा पर्ने गरेको छ ।

महानगर क्षेत्रमा पहिले नै खोलासँगै चार मिटरको बहाव क्षेत्र छोडिएको छ । तर बूढानीलकण्ठ नगरपालिका–१० को भागमा भने खोलासँगै चार मिटर बहाव क्षेत्र नछोडी घर बनाइएको छ । 

खोलाको दायाँबायाँ चार÷चार मिटर खुला भाग छोडेर घर बनाउनुपर्ने मापदण्ड भए पनि त्यो तत्कालीन कपन गाविसले पालना नगरेको यो प्रकरणले देखाएको छ ।

महानगरपालिका–७ का अध्यक्ष विमलकुमार होडा नापी कार्यालयले यस क्षेत्रको नापी गर्ने र पुर्जा भएको जग्गामात्र व्यक्तिको कायम गराएर बाँकी जग्गा सरकारी पर्तिका रुपमा कायम गरिने बताउनुहुन्छ ।
 
दुई दशकदेखिको यो समस्या समाधानका महानगरपालिकाको नेतृत्वमा ढल हटाएर नदीको बहाव क्षेत्र कायम गर्न लागिएको हो । नदीको बहाव क्षेत्र कायम गर्ने काम धमाधम भइरहेको महानगरपालिका–६ का अध्यक्ष भुवन लामाले राससलाई जानकारी दिनुभयो ।

महानगर क्षेत्रमा नदीको बहाव क्षेत्रलाई कायम गर्न अझै केही दिन लाग्ने उहाँले सुनाउनृभयो । दुवै खोलाको बहाव क्षेत्रबाट ढल हटाउने काममा बूढानीलकण्ठ नगरपालिकालेसमेत सहयोग गरिरहेको जनाइएको छ ।

कपन, सरस्वतीनगर क्षेत्रमा यज्ञमती र चखँुचा खोला कायम हुँदा बाढीको समस्या नरहेको स्थानीयवासी बिना दाहालले बताउनुभयो । खोला पुरेर ढल हालेपछि भने वर्षाको समयमा बाटो हिँड्नै नसकिने गरी बाढी आउने गरेको छ । जसका कारण यसवर्ष एक बालकलाई बाढीले बगाएको थियो । 
–––

बुधबार ३१ साउन २०८० ०१:४७ PM मा प्रकाशित

प्रतिक्रिया