×

पर्यटन प्रवर्धनका लागि भियतनामसँग सिधा उडान गर्न आग्रह

images


काठमाडौँ, ३१ साउन  नेपाल–भियतनाम सम्बन्ध थप विस्तार तथा पर्यटन प्रवद्र्धनका लागि दुबै मुलुकबीच सिधा उडान हुनुपर्ने यस क्षेत्रका जानकारहरुको सुझाव छ । नेपाल–भियतनाम चेम्बर अफ कमर्शले नेपालका लागि समेत राजदूत रहनुभएका न्गुयेन थान हाइको स्वागतका लागि आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँहरुले लुम्बिनी–भियतनाम सिधा उडान गर्न सके बुद्धिष्ट सर्किट विस्तारमा टेवा पुग्ने धारणा व्यक्त गर्नभएको हो ।

कार्यक्रममा राजदूत न्गुयेनले भियतनामीहरु नेपालको लुम्बिनी आउन इच्छुक रहेको उल्लेख गर्दै दुई देशले पर्यटन प्रवद्र्धनका लागि सम्पर्क सञ्जाल विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापनापछि द्विपक्षीय रुपमा भ्रमण आदानप्रदान हुँदै आएको बताउँदै आर्थिक समृद्धिका लागि द्विपक्षीय व्यापार, पर्यटनलगायत सम्भावनाका क्षेत्रमा सम्पर्क सञ्जाल विस्तार गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

भियतनामका लागि कन्सुलरसमेत रहनुभएका व्यवसायी राजेशकाजी श्रेष्ठले नेपालको पर्यटन प्रवद्र्धनका लागि लुम्बिनी–भियतनाम सिधा उडानको लागि पहल गर्न आग्रह गर्नुभयो । साथै उहाँले दुबै देशबीच व्यापार, लगानी, कृषि, पर्यटन, सांस्कृतिक सम्बन्धलगायत क्षेत्रमा सहयोग आदानप्रदानका लागि आग्रह गर्नुभयो । कार्यक्रममा नेपाल–भियतनाम चेम्बर अफ कमर्शका अध्यक्ष दीपक मलहोत्रा र उपाध्यक्ष सुरेशमान श्रेष्ठले द्विपक्षीय व्यापार, पर्यटन, कृषि, धार्मिक पर्यटनलगायत सम्बन्ध विस्तारले जनता–जनताबीच समेत सम्बन्ध विस्तार हुने धारणा व्यक्त गर्नुभयो ।

 साथै उहाँहरुले भियतनामसँग कृषि क्षेत्रमा हातेमालो गरेर र बुद्ध धर्मालम्बीलाई बुद्धको जन्मभूमि भित्र्याएर नेपालले लाभ लिनसक्ने बताउनुभयो ।
––– 

बुधबार ३१ साउन २०८० ०३:३८ PM मा प्रकाशित

प्रतिक्रिया