×

सन् २०२६ सम्ममा दादुरा निवारणका लागि  खोप ल्याउन गाभीलाई पत्र

images


काठमाडौँ, ३१ साउन : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै जिल्लामा यसै आर्थिक वर्षमा दादुरा–रुवेला रोगविरुद्धको खोप अभियान सञ्चालन गर्ने तयारी गरेको छ । दादुरा रोगलाई सन् २०२६ सम्ममा निवारण गर्ने लक्ष्यका साथ मन्त्रालयले यसै आर्थिक वर्षभित्र देशभरिका बालबालिकालाई दादुरा र रुवेलाविरुद्धको खोप लगाउन अभियान सञ्चालनको तयारी गरेको हो । 
खोप अभियानका लागि स्वास्थ्य सेवा विभागअन्तर्गतको बालस्वास्थ्य तथा खोप शाखाले ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स ‘गाभी’ लाई गत साउन– २ गते औपचारिक रुपमा पत्र पठाइ दादुरा–रुवेलाविरुद्धको खोप माग गरेको छ । खोप शाखा प्रमुख डा अभियान गौतमले अभियानका लागि गाभीसँग ९७ लाख मात्रा खोप माग गरिएको जानकारी दिनुभयो । 

“हाम्रो पत्रलाई गाभीले सकारात्मक रुपमा लिएको छ” उहाँले भन्नुभयो, “गाभीबाट खोप आएपछि देशभरि नै खोप अभियान सञ्चालन गर्दछौँ ।”उहाँका अनुसार खोप नौ महिनादेखि पाँच वर्ष उमेर समूह र उच्च जोखिमका जिल्लामा १५ वर्षमुनिका बालबालिकालाई प्रदान गरिने छ । 
भारतसँग सिमाना जोडिएका २१ र उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरलाई उच्च सङ्क्रमित जिल्लाको रुपमा लिइएको छ । परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले देशभरि नै खोप सञ्चालन गर्नका लागि नेपालमा रहेको साधनस्रोत अभाव हुने भएकोले गाभीलाई खोपका लागि आग्रह गरिएको जानकारी दिनुभयो । “देशभरि नै बालबालिकालाई खोप लगाउन हामीसँग भएको स्रोतसाधानले पुग्दैन” उहाँले भन्नुभयो, “खोप उपलब्ध गराउनका लागि हामीले सरकारका तर्फबाट गाभीलाई औपचारिक पत्र पठाइसकेका छौँ । हाम्रो प्रस्तावमाथि छलफल भएर खोप स्वीकृत हुनका लागि पाँच–छ महिना लाग्छ  र त्यसको एक–दुई महिना खोप नेपाल आउन सक्छ । आर्थिक वर्षको अन्त्यसम्ममा खोप लगाउन सक्छौँ कि भन्ने हामीलाई लागेको छ ।”

निर्देशक  लालले अन्य रोगजस्तो दादुरा नभएकोले चार–पाँच वर्षबीचको अन्तरमा देशभरि नै अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो । देशभरि नै जोखिममा रहेका १६ जिल्लामा अरु खोप ८०÷८५ प्रतिशत बालबालिकालाई लगाइयो भने अन्य १०÷१५ प्रतिशत बालबालिका पनि सुरक्षित हुन्छन् भन्ने छ” उहाँले भन्नुभयो, “तर दादुरा खोप कमसेकम ९५ प्रतिशत बालबालिका लाई लगाउनुपर्दछ ।”

बुधबार ३१ साउन २०८० ०४:५७ PM मा प्रकाशित

प्रतिक्रिया