×

चैते धानमार्फत सामूहिकखेतीमा जोडिँदै सुरौदीका किसान

images

 गत चैत १७ गतेदेखि कास्कीको दक्षिण भेग सुरौदी खोलाकोे किनार कुर्लिङ क्षेत्रस्थित नरपतेमा झण्डै १२÷१५ जनाको समूह लगातार चैते धान रोप्न ब्यस्त देखिन्छ ।
    
    अधिकांश स्थानमा कृषिप्रतिको अनइच्छाका कारण खेत तथा बारी बाँझिँदै गएको वास्तविकतामा यहाँका किसान भने तिनै बाँझिएकामध्ये २०० रोपनीभन्दा बढी क्षेत्रफलको खेतमा यतिखेर बाँझो फोरेर सामूहिक चैते धान रोप्न लागिपरेका हुन् ।
    
    कुर्लिङ बराह कृषक समूहमा सङ्गठित यहाँका १२ कृषक परिवारको समूहिक प्रयासमा विगत २० वर्षयता लगातार बाँझिएको खेतका कतिपय स्थानमा चैते धानको रोपो हरियो भइसकेको छ भने रोप्नेक्रम पनि चलिरहेको छ । आफूहरूले अझै एक दुई दिन रोपाइँ गर्ने योजना रहेको समूहका अध्यक्ष हरिप्रसाद आचार्यले जानकारी दिनुभयो ।
    
    “कृषिप्रतिको बढ्दो अनइच्छासँगै पछिल्ला वर्षमा सुरौदी क्षेत्रमा धेरै जग्गा बाँझिएको छ”, उहाँले भन्नुभयो, “बाँझिएका जग्गामा खेती गरी उत्पादन बढाउनका लागि अन्य कृषकलाई पनि अभिप्रेरित गर्ने उद्देश्यले हामी सामूहिक चैते धानखेतीतर्फ लागेका हौँ ।”
    
    कृषकको जागरुकतासँगै सामूहिक चैते धानखेतीमा पोखरा महानगरपालिका कृषि महाशाखाले चासो दिएको छ । सङ्घीय शःसर्त धान प्रवद्र्धन कार्यक्रमअन्तर्गत महाशाखाले कृषकलाई उन्नत जातको चैते–५ र हर्दिनासे बीउ ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको थियो । उन्नत जातको धानको विउ विगतमा भन्दा मसिनो खालको छ । 

    कार्यक्रमअन्तर्गत नै सिँचाइका लागि सहयोग गरिएको महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिनुभयो । कार्यक्रमअन्तर्गत नै आगामी दिनमा समूहलाई ५० प्रतिशत अनुदानमा कुटानी पिसानी मेसिन, मिनि ट्रेलर, त्रिपाल, मिनि थ्रेसरलगायतका उपकरण सहयोग उपलब्ध गराउने जानकारी दिँदै महाशाखाका प्रमुख कडरियाले ४० दिनपछि स्थलगत अनुगमन गरी प्रतिरोपनी रु ९०० सम्म प्रोत्साहन अनुदान उपलब्ध गराइने बताउनुभयो । 
    
    “महाशाखाबाट यसअघि उक्त समूहका तीन जना कृषकलाई तालिमसमेत दिइएको थियो”, उहाँले भन्नुभयो, “आगामी दिनमा समूहको जागरुकता समेतलाई दृष्टिगत गरी आवश्यकताअनुसार अन्य सहयोग पनि उपलब्ध गराउने छौँ ।” सङ्घीय शःसर्त धान प्रवद्र्धन कार्यक्रमअन्तर्गत महानगरपालिकाभित्र सुरौदीसहित क्षेत्र विभाजन गरी वडा नं २६ र २७ मा तथा वडा नं १३ काहुँखोलामा चैते धान रोपाइँमा सहयोग गरिएको कडरियाले जानकारी दिनुभयो ।
    
    समूहले आगामी दिनमा व्यावसायिक तरकारीखेती गर्ने योजनासमेत राखेको समूहका सदस्य एवं कुर्लिङ पशुपक्षी तथा कृषि फर्मका सञ्चालक चेतबहादुर महतले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्ला वर्षमा यहाँ कृषक व्यावसायिक कृषिका लागि फर्म दर्ता गरी आफ्नो व्यवसायलाई व्यवस्थित गर्ने प्रयासमा जुटेका छन् । समूहकै सक्रियतामा कुर्लिङ बराह कृषक हित कोष स्थापना गरी प्रतिकृषक मासिक रु १०० सङ्कलन गर्न थालिएको छ ।
    
    पछिल्ला समयमा यहाँ कृषक व्यावसायिक गाईभैँसीपालन, बाख्रापालनसँगै कुखुरापालन आदिमा व्यस्त बनेका छन् । उत्पादित भैँसी, बाख्रा, कुखराको बिक्रीका लागि बजार जानु नपर्ने र घर तथा फर्मबाटै बिक्री हुने गरेको यहाँका कृषक बताउँछन् ।
    
    पछिल्ला वर्षमा सुरौदी खोलाको कटान नियन्त्रण हुन नसक्दा उब्जाउयोग्य जमिन बगरमा परिणत बन्दै गएको छ । कास्की, तनहुँ र स्याङ्जा तीन जिल्ला भएर बग्ने सुरौदी खोलाले वर्षेनी खेतीयोग्य जमिनको कटान गरिरहेको र यसलाई रोक्नुपर्ने स्थानीयको सामूहिक आवाज छ ।
    
    कृषिका अतिरिक्त जल पर्यटनको पर्याप्त सम्भावना रहेको सुरौदी खोलालाई संरक्षण गर्दै यसको सदुपयोग गर्नसके यहाँको आर्थिक समृद्धिका लागि महत्वपूर्ण आधार बन्ने कुर्लिङ पशुपक्षी तथा कृषि फर्मका सञ्चालक महतको भनाइ छ ।
    
    यस क्षेत्रको जलाधारको संरक्षण र उपयोग गर्नसके स्याङ्जाको प्युरीदोभानदेखि कास्कीको दोपहरे, छहरा, चवादी हुँदै तनहँुको घारी बगरसम्मका अधिकांश खेतीयोग्य भूभाग सुरौदी खोलाको पानीले सिँचाइ गर्न सकिनाका साथै माछापालन यहाँको राम्रो आम्दानी गर्न सकिने उहाँले बताउनुभयो ।
    
    सुरौदी खोलामा जल पर्यटनको पनि उत्तिकै सम्भावना रहेको र दीर्घकालीनरुपमा खोलालाई निश्चित बाटोमा हिँडाउन ठाउँठाउँमा तटबन्ध निर्माण गर्नु आवश्यक देखिन्छ । पछिल्ला वर्षमा नदीजन्य ढुङ्गा, गिट्टी, बालुवा जथाभावी उत्खनन् बढेकाले त्यसलाई रोक्नका लागि यस अघि स्थानीयका तर्फबाट तीनवटै जिल्लास्थित सम्बद्ध निकायमा ध्यानाकर्षणसमेत गराइएको थियो । नदीको वर्षेनी धार परिवर्तन हुँदै जाँदा करिब ६० वर्षयता जलाधार क्षेत्रमा रहेका कैयौँ खेतीयोग्य जमीन बगरमा परिणत भएको स्थानीयको अनुभव छ । 

शनिबार ३ बैशाख २०७९ १२:४३ PM मा प्रकाशित

प्रतिक्रिया