काठमाडौं । अभद्र व्यवहारको कसुरमा पक्राउ परेकी स्वघोषित अभियन्ता आशिका तामाङलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ । बुधबार जिल्ला अदालत काठमाडौंले उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । तामाङविरूद्ध थप अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद थप भएको प्रहरीले जनाएको छ । गत पुस २६ गते पशुपति क्षेत्र विकास कोषको पत्र जाहेरी र पुस २५ को प्रहरी प्रतिवेदनका आधारमा उनी मंगलबार पक्राउ परेकी थिईन् ।
गत पुस २५ गते तामाङ केही युवालाई लिएर पशुपति मन्दिरपरिसरमा पुगी पशुपति क्षेत्र विकास कोषका पदाधिकारी, कर्मचारी तथा सुरक्षार्थ खटिएका प्रहरीमाथि अपशब्द प्रयोग गरी अभद्र रूपमा प्रस्तुत भएकी थिईन् । केही दिन अगाडी पशुपति विकास कोषमा सुरक्षार्थ खटिएका डीएसपीसहितका प्रहरीलाई नाङ्गै भएर हिड्नुस भनेपछि आशिका विवादमा तानिएकी हुन् ।
कोषले ३५ महिलालाई जागिरबाट निकालेको छ । त्यसको विरोधमा पशुपति विकास कोषमा पुगेकी तामाङ र प्रहरीबीच झण्डै हात हालाहालको अवस्था सिर्जना भएको थियो । प्रहरीले आशिकालाई कोषको कार्यालयभित्र प्रवेश गर्न नदिएपछि उनी उग्र रुपमा प्रस्तुत भएकी थिइन् । कोषले ३५ महिलालाई जागिरबाट निकालेपछि पीडितहरु कार्यालयको गेटमा अनशन बसेका थिए ।
उनीहरुको समर्थन र कोषका प्रमुखसँग कुरा गर्न आशिका त्यहाँ पुगेकी थिइन् । तर प्रहरीले प्रवेश गर्न नदिएपछि वादविवादको अवस्था सिर्जना भएको सार्वजनिक भिडियोमा देख्न सकिन्छ । डीएसपीलाई उनले कार्यालय प्रमखसँग भेट गराउन भनिरहेको भिडियोमा सुन्न सकिन्छ । तर त्यहाँ खटिएका एकजना डीएसपीले कुरा गराउन नसक्ने जवाफ दिएको सुन्न सकिन्छ ।
त्यसपछि आशिकाले कुरा गराउन नसक्ने भएपछि बर्दी खोलेर नाङ्गै भएर हिड्नुस भनेकी थिइन् । आशिकाले भनेकी छिन्, ‘कुरा गराउन नसक्ने भए बर्दी खोलेर नाङ्गै भएर हिड्नुस, बुझ्नु भो । तरिका हो यो । यो ३५ जनाको मात्रै समस्या हो ।’
प्रतिक्रिया