×

स्वास्थ्य क्षेत्रमा बजेट र जनशक्ति अभाव

images

गण्डकी, २८ असोज : स्वास्थ्य क्षेत्रले बजेट र जनशक्ति अभावको सामना गर्नुपरिरहेको छ । यसले गण्डकी प्रदेशमा स्वास्थ्य सेवाको गुणस्तर र पहुँचमा चुनौती थपिएको छ । प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका अनुसार आधारभूत सेवाका लागि चाहिने औषधि किन्नसमेत पर्याप्त बजेट छैन । प्रदेश सरकारले चालु आवमा कुल बजेटको छ प्रतिशतमात्र स्वास्थ्य क्षेत्रका लागि छुट्याएको मन्त्रालयका सचिव डा विनोदविन्दु शर्माले बताउनुभयो ।

“स्वास्थ्यमा बजेट र जनशक्तिको अभाव छ । विसं २०३५ अघिको दरबन्दी संरचनामा काम गर्नुपर्दा अस्पतालहरूलाई ठूलो चुनौती भइरहेको छ”, उहाँले भन्नुभयो । सचिव डा शर्माले कतिपय विशेषज्ञ पदमा चिकित्सक माग गर्दा आवेदनसमेत नपरेको सुनाउनुभयो । “दरबन्दीअनुसार स्वास्थ्यमा अझै पनि २६ प्रतिशत जनशक्तिको पदपूर्ति हुनसकेको छैन”, उहाँले भन्नुभयो, “समयसापेक्षरूपमा अस्पतालहरूको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्नुपर्ने अवस्था छ ।”

माग र आवश्यकताका आधारमा विशेषज्ञसहित थप पाँच सय स्वास्थ्यकर्मी गण्डकी प्रदेशलाई चाहिने मन्त्रालयले जनाएको छ । मन्त्रालयअन्तर्गत सात सय ९३ जनाको दरबन्दी रहेकामा पाँच सय ९३ जनाको मात्र पदपूर्ति भएको छ । मन्त्रालयतर्फ नौ, प्रदेशस्तरीय कार्यालयतर्फ २१, अस्पतालतर्फ एक सय ४०, स्वास्थ्य कार्यालयतर्फ २७ र आयुर्वेद कार्यालयमा तीन जनाको दरबन्दी रिक्त रहेको मन्त्रालयका सचिव शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार मन्त्रालयले अस्पतालको सेवा प्रवाहलाई व्यवस्थित र प्रभावकारी बनाउन एक सय ६३ जनाको अस्थायी दरबन्दी स्वीकृत गरी जनशक्ति व्यवस्थापन गरेको छ ।

कतिपय अस्पतालमा भित्र्याइएका अत्याधुनिक स्वास्थ्य उपकरण सञ्चालनका लागि पनि जनशक्ति अभाव रहेको मन्त्रालयले जनाएको छ । बजेट अभावका कारण अस्पताल भवनलगायत भौतिक पूर्वाधारका काम पनि प्रभावित बनिरहेको सचिव डा शर्माले बताउनुभयो । लमजुङ, स्याङ्जा र दमौली अस्पताल भवन निर्माणमा बजेट अभाव रहेको उहाँको भनाइ थियो ।

“प्रदेश गौरवको आयोजनाका रूपमा घोषणा गरिएको क्यान्सर, मुटु र मिर्गौला रोगको विशिष्टीकृत अस्पताल निर्माण योजना पनि जग्गा र बजेटको सुनिश्चितता नहुँदा अलपत्र परेको छ”, शर्माले भन्नुभयो, “मातृशिशु, महिला तथा बाल अस्पताल बनाउने योजना पनि अगाडि बढ्न सकेको छैन ।” उहाँका अनुसार खोप, औषधि ढुवानीलगायत अत्यावश्यकीय सेवाका लागि चाहिने सवारीसाधनको समेत अभाव रहेको छ ।

आइतबार​ २८ असोज २०८० ०७:०० PM मा प्रकाशित

प्रतिक्रिया