×

मिटरब्याजीले लिएको जग्गा पीडितलाई फिर्ता

images

चितवन, ३० साउन : चितवनमा दर्ता भएका अनुचित लेदनदेन (मिटरब्याज) का निवेदनमध्ये एक पीडितले दुई कट्ठा जग्गा फिर्ता पाउनुभएको छ । रत्ननगर नगरपालिका–१० का उमेश केसीले जग्गा फिर्ता पाउनुभएको हो ।

पीडित केसीले जग्गा फिर्ता पाऊँ भनी दिएको निवेदनउपर छलफल हुँदा जग्गा फिर्ता गर्ने सहमति भएको जिल्ला प्रशासन कार्यालयका नायब सुब्वा सुनिल लम्सालले जानकारी दिनुभयो । रत्ननगर नगरपालिका– ९ का शिवप्रसाद बरालले केसीको जग्गा फिर्ता गर्नुभएको हो । अनुचित लेनदेनका कारण आफूले जग्गा दिनु परेको र सो जग्गा फिर्ता गरी पाऊँ भनी परेको उजुरीमा छलफलका क्रममा दुवै पक्षबीच सहमति भई जग्गा फिर्ता गरिएको उहाँले बताउनुभयो । विसं २०६९ मा राजीनामा गरेको जग्गा फिर्ता गराइएको लम्सालले बताउनुभयो ।

अनुचित लेनदेनसम्बन्धी जाँचबुझ आयोगले निवेदन आह्वान गरेको समयमा चितवनमा ६० उजुरी परेका थिए । ती उजुरीमध्ये ३२ पीडकले आफ्नो ब्यहोरा खुलाएर निवेदनसमेत दिएको उहाँले जानकारी दिनुभयो । पीडितका तर्फबाट परेका उजुरीमध्ये अधिकांश जग्गाको कारोबारका रहेका नायव सुब्बा लम्सालले बताउनुभयो । पीडितले दृष्टि बन्धक भनेर दिएको जग्गा पीडकले नामसारी गरेर लिएको भन्दै उजुरी परेको थियो । अधिकांशले जग्गा फिर्ता गरिपाऊँ भनी निवेदन दिएका छन् ।

नायब सुब्वा लम्सालका अनुसार परेका उजुरीमध्ये ५५ माथि छलफल गरिएको छ । “सात उजुरीमा सहमति जुटेको छ । अन्यबारे दोस्रो र तेस्रो चरणमा छलफल भइरहेको छ”, उहाँले भन्नुभयो । अन्य पाँच जनाको निवेदनका लागि दुवै पक्षलाई छलफलमा बोलाइएको छ ।

यसअघि गृह मन्त्रालयले २०७९ साउन २८ गतेदेखि भदौ ५ गतेसम्म मिटरब्याजीविरुद्ध उजुरी आह्वान गरेको थियो । सो समयमा २५ जनाले उजुरी दर्ता गराएका थिए । हालसम्म एउटा निवेदनको छलफलबाट टुङ्गो लागेको छ । अन्य २४ उजुरीबारे आवश्यक कारबाही अघि बढाइएको छ ।

मङ्गलबार ३० साउन २०८० ०३:५६ PM मा प्रकाशित

प्रतिक्रिया