×

‘शेयर बजारमाथि विश्वास कायम गर्न मन्त्रालय, राष्ट्र बैंक र धितोपत्र बोर्डले के गरिरहेका छन् ?’

images

प्रतिनिधि सभाको आज बुधवारको बैठकमा नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले धितोपत्र बजारको स्थायित्व र लगानीकर्ताको विश्वास कायम गराउन नियामक निकायको ध्यानाकर्षण गराउनुभएको छ ।

आजको बैठकमा विशेष समय लिएर सांसद थापाले समग्र अर्थतन्त्रको परिसूचकका रूपमा रहने शेयर बजारको स्थायित्व र सबलताले लगानीकर्ताको मात्र नभइ समग्र अर्थतन्त्र उन्नयनतर्फ लाने हुँदा अहिले धितोपत्र बजारमा देखिएका समस्याका बारेमा सदनलाई स्पष्ट पार्न माग गर्नुभयो । 

उहाँले सामान्य अवस्थामा शेयर बजार तलमाथि हुने, तरलता अभावले बजारमा प्रभाव पर्ने नियमित प्रक्रिया भए पनि केही नीतिगत कारणले बजार अस्थिर हुन नहुने बताउँदै धितोपत्र बजारको नीति दिगो र अर्थतन्त्रलाई सबलीकरण गर्ने खालको बनाउन माग गर्नुभयो । 

अहिलेको बजारमा साना लगानीकर्ता अझ बढी मारमा परेको र आम लगानीकर्ताको सुरक्षाका बारेमा सरकार र नियामकले गरिरहेका कामका बारेमा जानकारी गराउन थापाले सरकारको ध्यानाकर्षण गराउनुभयो । 

कांग्रेस महामन्त्री थापाले गएको लामो समयदेखि अस्थिर रहेको शेयर बजारको संरक्षण र लगानीकर्ताको प्रोत्साहनका लागि कार्यक्रम ल्याउन सरोकारवालाको ध्यानाकर्षण गराउनुभएको हो । 

शेयर बजारको स्थायित्व, सबलताले लगानीकर्ताको मात्र नभएर समग्र अर्थतन्त्रको सबलीकरणमा योगदान पुग्छ भन्दै उहाँले शेयर बजारको स्थायित्व कायम गर्न, शेयर बजारमाथि विश्वास कायम गर्न अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र नियामक धितोपत्र बोर्डले के–कस्ता काम गरिरहेका छन् भनी प्रश्न गर्नुभयो । 

साथै उहाँले साना लगानीकर्ताको संरक्षणका लागि भइरहेका कामहरूबारे सदनलाई जानकारी गराउन माग गर्नुभयो । नेता थापाले भन्नुभयो, ‘२०७८ भदौ २८ गते नेप्से परिसूचक बढेर तीन हजार एक सय ९८ को उच्चतम विन्दुमा पुगेको थियो । यही जेठ ३१ गते घटेर एक हजार नौ सय ९९ मा झरेको छ । यसले शेयर बजारको विश्वसनीयतामा नकारात्मक असर पर्नाका साथै साना लगानीकर्ता उठ्न नसक्ने गरी थला पारेको छ । अस्थिर नीतिका कारण लगानी बजार धराशायी बनेको छ, यसको तत्काल समाधान खोजिनुपर्छ ।’ 

बुधबार १ असार २०७९ ०२:५४ PM मा प्रकाशित

प्रतिक्रिया