×

प्राकृतिक विविधतायुक्त नेपाल गरिबी र पछ्यौटेपनमा रहन सक्दैनः अध्यक्ष ओली

images

काठमाडौँ : नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले पर्सा जिल्लाका जनप्रतिनिधिसहित जनता समाजवादी पार्टीका विभिन्न कार्यकर्तालाई आज आफ्नो पार्टीमा प्रवेश गराउनुभएको छ ।

    एमाले पर्सा–काठमाडौँ सम्पर्क मञ्च र युवा सङ्घ नेपाल, भक्तपुर शाखाले आज भक्तपुरमा आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले पर्साको पोखरिया नगरपालिकाका–६ का वडाध्यक्ष सियानन्दप्रसाद चौहान र जनता समाजवादी पार्टीनिकट समाजवादी विद्यार्थी युनियनका मुख्यसचिव राकेश महतोलगायतलाई प्रवेश गराउनुभएको हो ।

    नवप्रवेशीलाई स्वागत गर्दै अध्यक्ष ओलीले एमालेको देश बनाउने सही बाटो र गन्तव्यलाई मान्दै अहिले विभिन्न पार्टीबाट एमालेमा प्रवेश गर्नेको लहर चलेको जनाउँदै हिमाल, पहाड र तराईका प्राकृतिक विविधतायुक्त नेपाल गरिबी र पछ्यौटेपनमा रहिरहन नसक्ने बताउनुभयो । उहाँले नेपालले आफ्नो उत्पादन गरेर अरु मुलुकलाई निर्यात बढाउनेतर्फका योजना अघि सारेर आत्मनिर्भर मुलुक बनाउने एमालेको अभियानमा साथ दिन आग्रह गर्नुभयो । 

अध्यक्ष ओलीले औद्योगिक क्षेत्रको विस्तार, उत्पादन र रोजगारी बढाएर मुलुकलाई राष्ट्रिय अर्थतन्त्रलाई माथि लान सीता जन्मभूमि जानकी क्षेत्रको मधेश प्रदेश सक्षम भएको बताउनुभयो । उहाँले आफ्नो सरकारको कार्यकालमा सुरु भएको वीरगञ्ज–काठमाडौँ रेलजस्ता आयोजना अघि बढाउन एमालेले पुनः सरकारको नेतृत्व गर्नुपर्ने बताउनुभयो ।

    कार्यक्रममा एमालेका नेता महेश बस्नेतले विगतमा एमालेले मधेश जागरण अभियान सञ्चालन गर्दा अवरोध गर्न खोज्नेले अहिले पछुताउन थालेको जनाउँदै मधेशको समृद्धि  र विकासका लागि अध्यक्ष ओली नेतृत्वकै सरकारले काम गरेको जिकिर गर्नुभयो । 

युवासङ्घका अध्यक्ष किरण पौडेलले एमालेमा युवाको आकर्षण बढ्दै गएको बताउनुभयो ।

मङ्गलबार १ चैत २०७८ ०४:४३ PM मा प्रकाशित

प्रतिक्रिया