×

अर्जेन्टिनाको जीतमा मेस्सीको कीर्तिमान, फाइनल खेलेर सन्यास लिने

images

काठमाडौं । अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले कतारमा जारी फिफा विश्वकप सेमिफाइनलमा क्रोएसियाविरुद्धको खेलमा नयाँ इतिहास बनाएका छन् । फिफा पुरुष विश्वकपको इतिहासमा उनी सबैभन्दा धेरै खेल खेल्ने खेलाडी बनेका हुन् ।

जर्मनीका महान् खेलाडी लोथर माथाउस विश्वकपमा सबैभन्दा बढी खेल खेल्ने खेलाडी थिए । अब यो कीर्तिमान उनले लियोनेल मेस्सीसँग साझा गर्नुपर्ने भएको छ । अर्जेन्टिना कतारमा जारी विश्वकपको फाइनलमा पुगेसँगै अब मेस्सीसँग सो कीर्तिमान पनि भङ्ग गर्ने अवसर रहेको छ । साथै उनले विश्वकपमा सबैभन्दा बढी गोल गर्ने अर्जेन्टिनी खेलाडी बनेका छन्। 

मेसीले जारी विश्वकपमा क्रोएसियाविरूद्ध १ गोल गर्दै समग्र विश्वकपमा अर्जेन्टिनाका लागि ११ गोल गर्दै सर्वाधिक गोलकर्ता बनेका छन्। विश्वकपको २५ खेलमा अर्जेन्टिनाका लागि उनले ११ गोल गरेका छन् भने ९ गोलका लागि असिस्ट गरेका छन् । मेसीले गएरातिको गोलसँगै ग्याब्रिएल बाटिस्टुटाले बनाएको १० गोलको कीर्तिमान तोडेका हुन्। अर्जेन्टिनाका लागि डिएगो म्याराडोना र गिलेर्मो स्ताबिलले विश्वकपमा समान ८-८ गोल गरेका छन् ।

मेसीले जारी कतार विश्वकपमा ५ गोल गर्दै गोल्डेन बुटको दाबेदार समेत बनेका छन्। उनले यस विश्वकपमा सर्वाधिक गोलकर्ता सूचिमा फ्रान्सका केलियन एमबाप्पेसँग समान ५ गोल गरेका छन्। यस्तै उनले सर्वाधिक ३ असिस्टसमेत गरेका छन्। अर्जेन्टिना सन् १९८६ यता विश्व च्याम्पियन बन्न सकेको छैन। सन् २००५ देखि सिनियर अन्तर्राष्ट्रिय फुटबल खेल्दै आएका मेस्सीले गत वर्ष मात्र कोपा अमेरिका जितेर सिनियर राष्ट्रिय टोलीमा उपाधि खडेरी टारेका थिए।

मेस्सीले खेलेयता अर्जेन्टिना कोपा अमेरिकामा सन् २००७, २०१५, २०१६ र २०२१ मा फाइनल पुगेको छ भने विश्वकपमा २०१४ मा पनि फाइनल पुगेको थियो। अर्जेन्टिनी सुपर स्टार मेस्सीले कतार विश्वकपको फाइनल आफ्नो अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल हुने बताएका छन् । अर्जेन्टिनाको डियारियो डिपोर्टिभो ओलेसँग कुरा गर्दै मेस्सीले कतार विश्वकपको फाइनल खेलेर सन्यास लिने बताएको विभिन्न अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले उल्लेख गरेका छन्।

बुधबार २८ मंसिर २०७९ ११:५४ AM मा प्रकाशित

प्रतिक्रिया