×

नौ महिनामा भन्सार छलीका ५६ करोडका सामान बरामद

images

वीरगञ्ज (पर्सा), २ वैशाख : पर्साका प्रशासनले चालु आर्थिक वर्षको नौ महिनामा रु ५६ करोड एक लाख छ हजार नौ सय बराबरका राजस्व छलेर ल्याइएका सामान बरामद गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त र बेग्लाबेग्लै टोलीले उक्त अवधिमा भन्सार छली गरेका तथा बिलबिजकबमोजिम नभएका सामान बरामद गरेको हो ।

पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले रु ५६ करोडभन्दा बढीका अवैध सामान बरामद गरिएको बताउँदै भन्नुभयो, “जिल्लाको एक सय सात किलोमिटर क्षेत्र भारतसँग खुला सिमाना जोडिएको छ । सीमित सुरक्षाकर्मीको सहयोगमा चोरी पैठारी नियन्त्रण गरिरहेका छौँ ।

” नेपाल प्रहरीले हालसम्म अवैध चोरी तस्करी तथा बिलबिजकभन्दा धेरै सामान ल्याएको भन्दै रु ३६ करोड ३९ लाख ८९ हजार नौ सय ६९ बराबरका सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बलले पनि चोरी तस्करी तथा बिलबिजकअनुसार नभएका रु १९ करोड ६१ लाख १६ हजार ४० बराबरका सामान नियन्त्रणमा लिएको छ । आव २०७८/७९ मा रु २३ करोड ४९ लाख २१ हजार एक सय ४५ मूल्य पर्ने सामान नियन्त्रणमा लिइएको थियोे ।

आव २०७९÷८० मा रु ४८ करोड नौ लाख ६४ हजार छ सय ४६ बराबरका सामान बरामद भएको थियो । प्रमुख जिल्ला अधिकारी भुसालले आपराधिक गतिविधि नियन्त्रणका निमित आफ्ना भारतीय समकक्षीसँग पनि मासिक रुपमा बैठक गर्दै आएको बताउनुभयो । दशगजामा खेतीपाती, पशुहाट कुखुरा फार्म, माछा पोखरीलगायत संरचना निर्माण हुँदा अवाञ्छित गतिविधि नियन्त्रण चुनौतीपूर्ण बनेकोे बताउनुभयो । सीमा सुरक्षा र त्यहाँ हुने अवैध कारोबार रोक्न संयुक्त गस्ती र बजार अनुगमन नियमित रूपमा भइरहका छ ।

आइतबार​ २ बैशाख २०८१ ११:३५ AM मा प्रकाशित

प्रतिक्रिया