×

शृङ्खलाबद्ध लुटपाटका घटनाले जानकीवासी त्रसित

images

राँझा (बाँके), १ वैशाख : बाँकेको जानकी गाउँपालिकाका बस्तीमा शृङ्खलाबद्ध लुटपाट र डकैतीका घटना हुन थालेपछि स्थानीय त्रसित भएका छन् । जानकी–३ इन्द्रपुरमा गत फागुन २३ गते हतियारसहित आएका छजना लुटेराले कुटपिट गर्दा सन्तोष कठरिया थारूको मृत्यु भयो । लुटेराको प्रतिकार गर्न खोज्दा गम्भीर घाइते हुनुभएका सन्तोषको उपचारका क्रममा मृत्यु भयो भने उहाँकी श्रीमती सविता राजवंशी थारू घाइते हुनुभएको छ । जानकी–६ कपासीका लोकेन्द्रबहादुर बुढाक्षेत्रीको घरमा गत चैत २२ गते राति डाँकाहरूको समूहले लुटपाट गर्‍यो । करिब राति १ बजेतिर आएको डाँका समूहले आफूलाई कुटपिट गरी नगद र गरगहना लुटेर लगेका घरधनी बुढाक्षेत्रीले बताउनुभयो । राति एक्कासी घरभित्र प्रवेश गरेको उक्त समूहसँग पेस्तोल, तरबार र खुकुरी भएकाले आफूहरू प्रतिकारमा उत्रिन नसकेको उहाँले बताउनुभयो ।

डाँकाहरूको समूहले घरपरिवारलाई बाँधेर लुटपाट गरेको पीडितको भनाइ छ । शृङ्खलाबद्ध लुटपाट र डकैतीका घटना हुन थालेपछि त्रसित भएका जानकी गाउँपालिकावासीले स्थानीय सरकार तथा प्रहरी प्रशासनसँग सुरक्षाको माग गरेका छन् । गाउँपालिकाका विभिन्न बस्तीमा सर्वसाधारणको ज्यान जानेगरी भएका लुटपाटका घटनाले गाउँपालिकावासी डर, त्रासमा बाँच्न बाध्य भएका जानकी–४ खजुरखुर्द्धका अगुवा पदमबहादुर धितालले बताउनुभयो । उहाँका अनुसार बितेको दुई महिनामा जानकी–३ मानपुर, वडा नं ४ को साहदतपुर र ढुडुवार, वडा नं ६ को कपासी र सल्यानीटोलमा गरी आधा दर्जनबढी लुटपाटका घटना भएका छन् । डकैती समूहको लुटपाट र कुटपिटका घटना बढीरहेकाले स्थानीयले कहिले आफ्नै घरमा त्रासदीपूर्ण वातावरण बन्ने हो भन्दै सुरक्षाको माग गरेका उहाँको भनाइ छ ।

सर्वसाधारणले असुरक्षित महसुस गरी आफ्नो घर छाड्न बाध्य भएकाले गाउँबस्तीमा शान्ति सुरक्षाको व्यवस्था कायम गरी लुटपाटका घटनामा संलग्न दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने जानकी–६ का अगुवा सुरेश यादवले बताउनुभयो । “यहाँका विभिन्न बस्तीमा सर्वसाधारणको ज्यान जानेगरी भएका शृङ्खलाबद्ध घटनाले स्थानीयमा त्रासको वातावरण सिर्जना गरेको छ”, उहाँले भन्नुभयो, “बितेको दुई महिनामा पालिकामा एकजनाको ज्यान जानेगरी छवटा लुटपाटका घटना भएका छन् । हालसम्म एकजना पनि दोषी पक्राउ परेका छैनन् ।” लुटपाटका घटनाले आफूहरू असुरक्षित भएको भन्दै पालिकावासीले बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलसमक्ष सुरक्षाको माग गरेका जानकी–५ का स्थानीय राजितराम यादवले बताउनुभयो ।

गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय खजुरखुर्द्ध, जोगागाउँ प्रहरी चौकी, बेलभार र गनापुर प्रहरी चौकीमा थप जनशक्ति परिचालन गरेर भए पनि अविलम्ब शान्ति सुरक्षाको अनुभूति दिलाउन अनुरोध गरिएको उहाँले जानकारी गराउनुभयो । बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले लुटपाटका घटनाको अनुसन्धान भइरहेको बताउँदै थप जनशक्ति परिचालन गरेर स्थानीयलाई शान्ति सुरक्षा प्रदान गरिने जानकारी दिनुभयो ।

आइतबार​ २ बैशाख २०८१ १२:५२ PM मा प्रकाशित

प्रतिक्रिया