×

स्थानीय तह निर्वाचनमा पार्टीलाई प्रभावकारी बनाउन अध्यक्ष उपेन्द्र यादवको निर्देशन

images

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले स्थानीय तहमा पार्टीलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्न नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

सोमबार बसेको पार्टीको केन्द्रीय कमिटी बैठकको दोस्रो दिन पार्टीका नेता तथा कार्यकर्ताहरुलाई स्थानीय तहमा प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्न निर्देशन दिएका छन् ।

उनले प्रत्येक केन्द्रीय सदस्यहरुलाई आफ्नो कार्य क्षेत्रमा उपस्थित भएर आगामी स्थानीय निर्वाचनमा पार्टीलाई जिताउने अभियान सुरु गर्न लगाइने बताए । उनले गाउँ, नगर, वडालगायतका पार्टीका विभिन्न तहसँग समन्वय गरेर पार्टीलाई अझै प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

अध्यक्ष यादवले भने, ‘प्रत्येक केन्द्रीय सदस्यहरु एउटा पालिकामा, नगर, महानगरमा निर्वाचन अभियन्ताको रुपमा निर्वाचन अभियानलाई सञ्चालन गर्न संघीय परिषद्का साथीहरु, प्रदेशका साथीहरु, जिल्लाका साथीहरु, गाउँ, नगर, वडा लगायतका पार्टीका विभिन्न तहमा काम गर्ने साथीहरुसँग समन्वय गरेर अभियान चलाऔँ। यसरी गयौँ भने मलाई के लाग्छ भने प्रत्येक पालिकामा हामी प्रभावकारी हुन्छौँ । आफूले जिम्मा लिएको पालिकालाई जिताउनका लागि एउटा भरपुर प्रयास गरौँ । यो दुई महिना वैशाख ३० गतेसम्मका लागि यो अभियान गर्नेछौँ । त्यसपछि फेरि हामी नयाँ निर्णयहरु हुने नै छन् । चुनावअघि आएको हुनाले र पार्टीलाई स्थापित गर्नको लागि स्थानीय निर्वाचन महत्वपूर्ण भएकोले यसलाई हामीले अधिकसे अधिक पालिकामा, पार्टीका उम्मेदवारलाई जिताउनुपर्छ ।’

त्यस्तै पार्टीका केन्द्रीय सदस्य अर्जुन थापाले पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले पारित गरेको निर्वाचन निर्देशिकाअनुसार आगामी स्थानीय निर्वाचनमा सहभागी हुने बताए । उनले आजको बैठकमा नेताहरुले पार्टीको संगठनात्मक कुराहरुमा आफ्नो धारणा राखिरहेको बताए । केन्द्रीय सदस्य थापाले आगामी स्थानीय निर्वाचनमा केन्द्रीय प्रतिनिधिहरुले जिम्मेवारी बोधका साथ निर्वाचनमा आफ्नो कार्यक्षेत्रमा जित दिलाउने अठोटका साथ जाने कुरामा छलफल भइरहेको पनि बताए ।

केन्द्रीय सदस्य थापाले भने, ‘हिजो २९ गते जसपाको केन्द्रीय कार्यसमितिको बैठकले पार्टीले बनाएको निर्वाचन निर्देशिका र निर्वाचनमा जाँदा केन्द्रीय सदस्यले इलेक्सन फाइट गर्दा के–के गर्नुपर्छ ? भन्ने आचारसंहितादेखि लिएर निर्वाचन प्रक्रियामा होमिँदा अपनाउनुपर्ने सावधानी साथै निर्वाचन आयोगको निर्देशिकालाई कसरी पालन गर्ने ? र आगामी स्थानीय निर्वाचनमा अन्य राजनीतिक दलसँग कसरी तालमेल गर्ने भन्ने हकमा हामीले छलफल गरेका थियौँ र प्रश्ताव पारित गर्‍यौं । आजको दिन विशेष गरेर पार्टीको संगठनात्मक बहस गर्दै सबै ५०५ जना केन्द्रीय सदस्यहरुलाई स्थानीय निर्वाचनमा बकाइदा जिम्मेवारी दिने कार्य भइरहेको छ । आगामी स्थानीय निर्वाचनमा केन्द्रीय प्रतिनिधिहरुले जिम्मेवारी बोधका साथ निर्वाचनमा आफ्नो कार्यक्षेत्रलाई आफ्नै केन्द्रीय कार्यसमितिको बैठकबाट तोकिएर निर्वाचनमा जाने निर्णय पार्टीले गरिरहेको छ ।’

त्यस्तै पार्टीको आजको बैठकमा संगठनात्मक प्रश्तावबारेमा छलफल हुने बताए । उनले आजको बैठकले केन्द्रीय प्रतिनिधिहरुले कसरी आफ्नो जिम्मेवारीलाई पूरा गर्ने भन्ने बारेमा छलफल भइरहेको पनि बताए । विभाग प्रमुख खतिवडाले स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर हरेक गाउँपालिकामा कम्तीमा एक जना केन्द्रीय सदस्यलाई खटाउने योजना रहेको पनि बताए ।

विभाग प्रमुख खतिवडाले भने, ‘आजको मुख्य एजेण्डा संगठात्मक प्रश्ताव हो । हाम्रो पार्टीभित्रको केन्द्रीय कार्यकारिणी समितिले के काम गर्ने ? यो स्थानीय चुनावमा हरेक व्यक्तिले के काम गर्ने भन्ने हो । स्थानीय चुनावको लागि हामी सबै केन्द्रीय सदस्यहरुको कार्य विभाजन गर्दछौँ र देशका ७५३ वटा नै गाउँपालिका र नगरपालिकाहरुलाई लक्षित गरेर कम्तीमा एकजना केन्द्रीय सदस्यलाई त्यहाँ खटाउने योजना बनाइरहेका छौँ । सांस्दहरुले स्थानीय चुनावमा प्रभावकारीताका साथ भाग लिनुपर्छ, पार्टी एकतावद्ध हुनुपर्छ, पार्टीको प्रभावकारिता अझै सशक्त हुनुपर्छ, जसपालाई देशको बलियो लोकतान्त्रिक प्रगतिशील विकल्पको रुपमा हिमाल, पहाड, तराई, मधेश जोड्न सक्ने राजनीतिक शक्तिको रुपमा विकास गर्नुपर्छ भन्ने धारणा राख्नुभएको छ ।’

विभाग प्रमुख खतिवडाले पार्टीको केन्द्रीय समितिको बैठकमा आगामी विधान अधिवेशनको तयारीका बारेमा पनि छलफल गरिने बताए ।

 

सोमबार ३० फागुन २०७८ ०४:०२ PM मा प्रकाशित

प्रतिक्रिया