काठमाडौं । वाणिज्य बैंकहरूले माघ महिनाका लागि ब्याजदर थप घटाएका छन् । २० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको सूचीअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर औसतमा पुसको तुलनामा माघमा ०.१४९५ प्रतिशत विन्दुले घटेको छ ।
पुसमा व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याजदर औसत ४.८३४ प्रतिशत रहेकोमा माघमा ४.६८४५ प्रतिशतमा झरेको हो । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर माघका लागि ५.५ प्रतिशतमा कायम भएको छ । ग्लोबल आईएमई बैंकले सबैभन्दा धेरै ५.५ प्रतिशत ब्याजदर तय गरेको छ ।
पुसको तुलनामा माघमा ११ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने ८ ले स्थिर राखेका छन् । एउटाले बढाएको छ । अधिकांशले ब्याजदर घटाएसँगै औसतमा ब्याजदर घटेको हो । ब्याजदर घटाएका बैंकमा कृषि विकास, एभरेस्ट, लक्ष्मी सनराइज, माछापुच्छ्रे, स्ट्यान्डर्ड चार्टर्ड, सिद्धार्थ, कुमारी, सानिमा, हिमालयन, नेपाल एसबीआई र सिटिजन्स छन् ।
त्यस्तै स्थिर राखेकामा नेपाल, एनआईसी एसिया, प्रभु, राष्ट्रिय वाणिज्य, नबिल, ग्लोबल आईएमई, नेपाल इन्भेस्टमेन्ट मेगा र एनएमबी छन् । एउटा बैंक प्राइम कमर्सियल बैंकले सामान्य बढाएको छ । सबैभन्दा बढी ब्याजदर घटाउने बैंक भने हिमालयन बैंक र माछापुच्छ्रे बैंक रहेका छन् । यी दुबै बैंकले ०.५ प्रतिशतविन्दुका दरले ब्याजदर घटाएका हुन् । माघ महिनामा एक बैंकले भने यस्तो निक्षेपको अधिकतम ब्याजदर बढाएको छ । पुस महिनामा सबैभन्दा कम अधिकतम ब्याजदर (४.२५ प्रतिशत) रहेको प्राइम कमर्सियल बैंकले माघ महिनाका लागि भने बढाएर ४.४ प्रतिशत पुर्याएको छ । बैंकले ०.१५ प्रतिशतविन्दुका दरले ब्याजदर बढाएको हो।
समीक्षा अवधिमा संस्थागत मुद्दति निक्षेपको अधिकतम औषत ब्याजदर पनि घटेको छ । बैंकहरुको यस्तो ब्याजदर औषतमा ०.०६२५ प्रतिशतविन्दु घटेको हो । माघ महिनाका लागि ४ बैंकहरुले संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका हुन् । बाँकी १६ बैंकहरुले भने यस्तो निक्षेपको अधिकतम ब्याजदरमा पुस महिनाकै दरलाई निरन्तरता दिएका छन् ।
माघ महिनाका लागि ग्लोबल आईएमई बैंकले व्यक्तिगत मुद्दतिमा ५.५ प्रतिशत ब्याज दिने छ । त्यसतै नेपाल बैंकले ५.१ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एशिया, नेपाल इन्भेष्टमेन्ट मोगा र एनएमबि बैंकले समान ५÷५ प्रतिशत ब्याज तोकेका छन् । त्यस्तै सिद्धार्थ बैंकले ४.५५ प्रतिशत, सानिमा बैंकको ४.५५ प्रतिशत, प्रभु बैंकको ४.५५ प्रतिशत, नविल बैंकको ४.५५ प्रतिशत र लक्ष्मी सनराइज बैंकको ४.५ प्रतिशत रहेको छ ।
त्यस्तै माघ महिनाका लागि माछापुछ्रे बैंक र सिटिजन बंकले समान ४.५ प्रतिशत, कुमारी बैंकले ४.४३ प्रतिशत र एभरेष्ट बैंकले ४.४ प्रतिशत ब्याज निर्धारण गरेका छन् । त्यस्तै माघका लागि कृषि विकास बैंकले ४.४ प्रतिशत, नेपाल एसविआई बैंकको ४.४ प्रतिशत र स्ट्याण्र्डर्ड चार्टर्ड बैंकको ४.३६ प्रतिशत रहेको छ ।
प्रतिक्रिया