×

लाजनिती 

images

सुष्मा आचार्य अंशु

फैलाइएकोछ बजारभरि
भलाईको दुहाई
इमानको झुठो दस्तावेज 
असक्षमलाई जाली तथ्यांकको 
ओढाएर ओढ्ने  
 प्रचारप्रसार भइरहेको छ 
योग्यताको 
इमानदारीका साथ ।

आश्वासनको रङ्गले 
छोपेर बग्रेल्ती दाग  
खोक्रो तर चम्किलो 
बनाइएको आवरण 
बेचिदैछन सस्तो बजारमा ।

किनिदैछन, उज्यालो सपना 
न्यानो सुर्य, खुल्ला आकाश 
प्राकृतिक शितल, रुख, 
इन्द्रेणी किरण,
हसियाको भरोसा 
अनि थुप्रै थुप्रै आस्थाका दीप 
महंगो मुल्यमा ।

गुनगुनाएर राष्ट्र भक्ति
देखाएर राष्ट्रिय नाच 
जताएर देश प्रेम 
छोपेर लाज ।

अन्धकार परिस्थिति
 देश र जनताको 
हालेर पोल्टोमा  
ब्यक्तिगत उज्यालोका लागि 
हुदैछ लिलामी 
 महँगो मूल्यांकनमा
पद प्रतिष्ठा, कुर्सी र शासनको 
 सस्तो बजारमा  ।

कहिलेसम्म यो झुठको खेति 
सपनाको ब्यापार
आत्मसम्मानको मोलमोलाइ 
आखिर तिमी पनि 
एक सन्तान आमाको 
कसरी बुन्न सक्छौ ?
जाल धोकाको 
आफ्नै परिजनमाथी 
बारम्बार कसरी खेल्न सक्छौ 
यो लाजनिती ।

शनिबार ३१ बैशाख २०७९ ०७:०४ AM मा प्रकाशित

प्रतिक्रिया