×

मलेसिया र खाडी मुलुकमा कार्यरत नेपालीमा मिर्गौलाको समस्या धेरै’

images


जनकपुरधाम, २५ असोज  : धनुषाका दुई स्थानीय तहमा गरिएको एक अध्ययनले मलेसिया र खाडी मुलुकमा कार्यरत नेपालीमा मिर्गौलाको समस्या बढी हुनसक्ने देखाएको छ । बेलायतस्थित बर्नमथ विश्वविद्यालयको नेतृत्वमा धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिका र छिरेश्वरनाथ नगरपालिकामा गरिएको एक अध्ययनले नेपालमै बसोबास गर्नेभन्दा खाडी मुलुक र मलेसियामा काम गरेर फर्किएका आप्रवासी नेपालीमा मिर्गौला समस्या बढी हुनसक्ने देखाएको हो ।

अध्ययनका क्रममा दुई वर्ष खाडीका छ मुलुक (कतार, साउदी अरब, कुवेत, ओमान, युएई, बहराइन) र मलेसियामा काम गरी फर्किएका तर नेपाल फर्किएको एक वर्ष पूरा नगरेका आप्रवासी र नेपालमै रहेका नागरिकबीच तुलना गरिएकामा त्यस्तो देखिएको अनुसन्धानकर्ता टोलीमा सहभागी डा निर्मल अर्यालले जानकारी दिनुभयो । 

उहाँका अनुसार वैदेशिक रोजगारीबाट फर्किएका सात सय १८ जना (सबै पुरुष) र नेपालमै रहेका सात सय २० जना (३७० पुरुष र ३४१ महिला) स्थानीयबीच तुलना गरिएको थियो । मिर्गौलाको अवस्था जनाउने सबैभन्दा महत्वपूर्ण परीक्षण मानिने ‘ग्लोमेरुलर फिल्ट्रेसन रेट’को क्षमता जाँच गरिएकामा आप्रवासीमा ५ दशमलव ८ प्रतिशत र गैरआप्रवासीमा ३ दशमलव ६ प्रतिशत कमी देखिएको डा अर्यालले जानकारी दिनुभयो । 

“गैरअप्रवासीमा पनि कहिल्यै विदेश नगएका पुरुष र महिलाभन्दा पूर्वआप्रवासीमा बढी समस्या देखिएको छ । त्यसैगरी रगतमा क्रियटिनिनको औसत पनि गैरआप्रवासीभन्दा आपवासीमा बढी देखिएको छ । उक्त परीक्षणले रगतमा क्रियटिनिन भन्ने तत्वको मात्रालाई हेरी मिर्गौलाले एक मिनेटमा कति मात्रामा रगत छान्दछ भन्ने निक्यौल गर्दछ र घट्दो दरले मिर्गौलाको कार्य क्षमतामा कमी आएको मानिन्छ । यसले पनि आप्रवासीहरूमा बढ्दो मिर्गौला समस्याको सङ्केत गर्दछ”, डा अर्यालले भन्नुभयो । 

यस्तै मिर्गौला रोगको अर्को परीक्षण पिसाबमा प्रोटिनको मात्रा भने आप्रवासीभन्दा गैरआप्रवासीमा बढी देखिएको छ । खासगरी गैरआप्रवासी महिलामा यो समस्या बढी देखिएकाले यसको कारकतत्व खोज्न छुट्टै अध्ययन गर्नुपर्ने अध्ययनको निष्कर्ष छ ।

त्यसैगरी अध्ययनले खाडी मुलुक र मलेसियाबाट फर्किएका नेपाली आप्रवासीमा स्थानीय गैरअप्रवासीको तुलनामा उच्चरक्तचाप (आप्रवासी ३८ प्रतिशत, गैरआप्रवासी १९ दशमलव ४ प्रतिशत), मधुमेह (आप्रवासी ७४ प्रतिशत, गैरआप्रवासी ४ दशमलव ७ प्रतिशत) र बढीतौल वा मोटोपन (आप्रवासी ६७४ प्रतिशत, गैरआप्रवासी ४९ प्रतिशत) को जोखिम निकै बढी रहेको देखिएको छ । 

बिहीबार २५ असोज २०८० ०२:२३ PM मा प्रकाशित

प्रतिक्रिया