×

विप्लवलाई अघि सारेर सरकार चुनाव सार्न खाेज्दैछ - अध्यक्ष ओली

images

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनले आउँदाे वैशाख ३० गते हुने पालिका चुनाव सार्ने षड्यन्त्र गरिरहेको आरोप लगाउनुभएको छ । अध्यक्ष ओलीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई देखाएर सरकारले पालिका चुनाव सार्ने षड्यन्त्र गरिरहेको तर्क गर्नुभयो । 

नेकपा एमाले जिल्ला कमिटी ललितपुरले आज मङ्गलवार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले पालिका चुनाव सार्ने षड्यन्त्रको मतियार नबन्न पनि विप्लव नेतृत्वको नेकपालाई आग्रह गर्नुभयो । अध्यक्ष ओलीले चुनाव सारेर पालिकालाई रिक्त बनाउने २०५९ सालमा आफैँले गरेकाे गरेको गल्ती दोहोर्‍याउने काम नगर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई चेतावनी दिनुभयो । 

उहाँले भन्नुभयो, ‘यो गठबन्धनले चुनाव सार्ने षड्यन्त्र गरिरहेकाे छ । चुनाव सारेर पालिका तह रिक्त गरिदिने । लोकतन्त्र रहन्छ ? लोकतन्त्र समाप्त पारिदिने । अहिले विप्लवलाई अगाडि सार्नुभएको छ । तर त्यस बहानामा वा कुनै पनि बहानामा आउँदाे वैशाख ३० गते हुने पालिका चुनाव सार्न मिल्दैन । यो देशकाे हितविरुद्धको षड्यन्त्र हुन्छ । यो षड्यन्त्र कुनै पनि हालतमा नेपाली जनतालाई मान्य हुन सक्दैन ।’

अध्यक्ष ओलीले विप्लव नेतृत्वको नेकपाका कार्यकर्तालाई रिहा गर्न र चुनावमा भाग लिने वातावरण तत्काल बनाउन पनि सरकारलाई दबाब दिनुभयो । त्यस त्याे बहानामा चुनाव सार्न नहुने उहाँकाे भनाइ छ । 

मङ्गलबार २९ चैत २०७८ ०५:५७ PM मा प्रकाशित

प्रतिक्रिया