×

कुटपिटमा संलग्न सबैलाई प्रकाउ नगरेको भन्दै प्रहरी चौकी घेराउ

images

राजविराज । कुटपिटको घटनामा संलग्न सबैलाई प्रहरीले पक्राउ नगरेको भन्दै सप्तरीको तिलाठि कोइलाडी गाउँपालिका–४ का स्थानीयहरुले शनिबार बिहानैदेखि सप्तरीको कोइलाडी बसाइन प्रहरी चौकी घेराउ गरेका छन् । प्रहरी चौकी अगाडि टायर बालेर प्रदर्शन गर्दै स्थानीयहरुले नाराबाजी गर्दै चौकी घेरेका हुन् ।

गाई चराउन जाँदै गरेकी कोइलाडीकी पुनिता कुमारी कामतको बाछोलाई मोटरसाइकलले ठक्कर दिएपछि विकास सिंहलगायतको समूहले पुनितालाई कुटपिट गरेको वडाध्यक्ष गोपी मण्डलले बताए । उनका अनुसार पुनिता कुटिएपछि उनको परिवार र टोलका मानिसहरु जाँदा उनीहरुलाई समेत कुटपिट गरिएको थियोे ।

खबर गर्दा पनि समयमा प्रहरी न आएको र संलग्न सबैलाई पक्राउ न गरेको भन्दै स्थानीयहरु प्रहरी चौकी घेराउ गर्न पुगेका हुन् ।

जिल्ला प्रहरीका डिएसपी माधव काफ्लेले घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिइसकेको बताए । घटनामा संलग्न सबै जनालाई नियन्त्रणमा नलिएसम्म प्रहरी चौकी घेराउ गरिरहने उनीहरुले बताएका छन् ।

 

शनिबार २९ माघ २०७८ ०१:२५ PM मा प्रकाशित

प्रतिक्रिया