×

डाेटीमा पुल निर्माण सुरु भएको आठ वर्षमा २० प्रतिशत मात्रै काम सम्पन्न

images

डोटी ।  डोटीको शिखर नगरपालिका–१० बानीडुग्रीसैनमा पर्ने सेती नदीमा मोटरेबल पुल निर्माण सुरु भएको आठ वर्षमा जम्मा २० प्रतिशत मात्रै काम सम्पन्न भएको छ । 

तीन वर्षभित्र बनाइसक्ने गरि सम्झौता भएको पुल  ठेकेदारको लापरबाहीका कारण अहिलेसम्म जम्मा २० प्रतिशत मात्रै सम्पन्न भएको छ । विसं २०७४ साल असार २९ गते काम सम्पन्न गर्ने गरी २०७१ सालमा ठेक्का सम्झौता भएकोमा हालसम्म जम्मा २० प्रतिशत मात्रै काम भएको सडक डिभिजन कार्यालय, कुलपातेले जनाएको छ ।

विसं २०४९ सालमा निर्माण कार्य सुरु भएको सातनाली मेल्लेक सडकलाई केआईसिंह राजमार्गसँग जोड्ने उक्त पुल निर्माण गर्न विसं २०७१ साल असार २९ गते सम्झौता भएको थियो । चार पटक म्याद समेत थप भइसक्दा समेत काम सम्पन्न नभएको भन्दै यहाँका नागरिकहरु आक्रोसित बनेका छन् ।

तीन सय २० मिटर लामो उक्त पुल मूल्य अभिवृद्धि कर (भ्याट)सहित २६ करोड २० लाख रुपैयाँ लागतमा निर्माण हुने भनिएको थियो । त्यसको लागि डिभिजन सडक कार्यालय कुलपाते दिपायलले पुष्प–राजेन्द्र जेभी निर्माण कम्पनीसँग सम्झौता पनि गरेको थियो । तर डिभिजन कार्यालयका सूचना अधिकारी योगेन्द्रबहादुर अधिकारीका अनुसार ठेकेदारले कोरोनाको सङ्क्रमणका कारण कामदार नपाएको भन्दै बहाना बनाउँदा बाँकी काम सुरु हुन सकेको छैन ।

डिभिजन सडक कार्यालयका अनुसार पुल निर्माणको जिम्मा पाएको पुष्प–राजेन्द्र जेभी कम्पनीले हालसम्म तीन करोड २१ लाख रुपैयाँ भुक्तानी लिइ सकेको छ । पुल निर्माणको कार्य सुरु भएपछि आफूहरु पनि सडक सञ्जालमा जोडिने आशामा बसेका यहाँका स्थानीयमा निराशा छाएको छ ।

‘पुल निर्माण होला र राजमार्गसँग जोडिउला भन्ने हाम्रा सपना सबै खरानी भए, पुल बन्ने छाटकाट देखिएन’, स्थानीयवासी रामबहादुर धामीले बताउनुभयो ।

 

शनिबार २९ माघ २०७८ ०३:०० PM मा प्रकाशित

प्रतिक्रिया