×

यो युग विज्ञान-प्रविधि, नवप्रवर्तन र उद्यमशीलताको हो : राष्ट्रपति पौडेल 

images

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आजको युग विज्ञान–प्रविधि, नवप्रवर्तन र उद्यमशीलताको भएको बताउनुभएको छ । 

बुधबार काठमाडौं विश्वविद्यालयको नेपाल टेक्नोलोजी इनोभेसन सेन्टर भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । 

पौडेलले इतिहासको महत्वपूर्ण कालखण्डमा विज्ञान–प्रविधि, नवप्रवर्तन र उद्यमशीलतामा नेपालले अपेक्षित गति लिन नसक्नु नै इतिहासको महत्वपूर्ण कालखण्डमा लगानी नगर्नु रहेको बताउनुभयो । 

यसका साथै उहाँले यी क्षेत्रमा पर्याप्त लगानी नगर्दा प्राविधिक, वैज्ञानिक एवं व्यवस्थापकीय जनशक्ति उत्पादन गर्न पछि परेको बताउनुभएको छ । 

‘भविष्यको पुस्तालाई व्यापक र द्रुत आयाममा प्रविधिमय हुँदै गएको विश्वसँग प्रस्तिस्पर्धा गर्न सक्षम बनाउनुको विकल्प हामीसँग छैन,’ उहाँले भन्नुभयो– ‘मानव मस्तिकको क्षमताले व्यवस्थित गर्न सक्नेभन्दा छिटो गतिमा विश्वमा परिरहेको जलवायु परिवर्तन, भूमण्डलीकरण र कृत्रिम विद्वताले मानव सभ्यतासामु खडा गरेका चुनौतीलाई पार लगाउँदै अगाडि बढ्नुपर्ने छ ।’

मानवतामैत्री, दिगो र न्यायपूर्ण विकासका लागि खोज, अनुसन्धान, नवप्रर्वतन र प्रविधिका परिपूरक सहकार्यका अतिरिक्त वातावरण र मानवतासँग अन्योन्याश्रित सहसम्बन्ध हुनु अपरिहार्य रहेको राष्ट्रपति पौडेलको भनाइ छ ।

पौडेलले प्रविधि र नवप्रवर्तनका लागि नमूना आधुनिक केन्द्रका रूपमा स्थापित यस केन्द्रले यी सबै पक्षमा महत्वपूर्ण यागदान गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो । 

उहाँले एनटिआईसीको उद्घाटनले नवीन प्रविधिको शुरुवात भएको यस ऐतिहासिक क्षणलाई प्रतिष्ठापूर्ण साख स्थापित गरेको काठमाडौं विश्वविद्यालयको मातहत र व्यवस्थापनमा यो केन्द्र रहनुले यसले निरन्तर र फलदायी सञ्चालनको आधार पाएको अनुभूति भएको बताउनुभयो ।

यस केन्द्रमा स्थापित कृषि, स्वस्थ्य र ऊर्जासम्बद्ध तीनवटै विशिष्टिकृत खोज–अनुसन्धान इकाईहरूले प्राज्ञिक प्रकृतिका अनुसन्धान कृति र आलेखहरू प्रकाशित गर्नुका अतिरिक्त समाज र राष्ट्रलाई प्रत्यक्ष उपयोगी हुने सीप, ज्ञान र दक्षता विकासमा उत्तिकै योगदान दिनुपर्ने बताउनुभयो ।  

मित्रराष्ट्र कोरिया र यसको विकास सहायता प्रदान गर्ने निकाय ‘कोइका’ले नेपालको आर्थिक–सामाजिक विकासमा निरन्तर महत्वपूर्ण योगदान गरेको छ ।

कोरिया आफै द्रुत गतिमा आर्थिक–सामाजिक विकासको उपल्लो उचाई हासिल गर्ने थोरै उदाहरणीय मुलुकहरूमध्ये एक भएको. औँल्याउनुभयो । 

आफ्नो संस्कृतिलाई अक्षुण राखेर आधुनिक विकासमा फड्को मार्ने त्यहाँको अनुभवबाट नेपालले धेरै कुरा सिक्नुपर्ने बताउनुभयो । यस केन्द्रको निर्माण र यसलाई अत्याधुनिक उपकरणहरूसमेतले सुसज्जित बनाउन मित्रराष्ट्र कोरियाले प्रदान गरेको सहयोगका लागि राष्ट्रपति पौडेलले आभार प्रकट गर्नुभयो । 

उहाँले भविष्यमा पनि खोज अनुसन्धानका नतिजा, अनुभव र स्रोत–साधनहरूको आदानप्रदानमार्फत यो केन्द्रको दिगो एवं फलदायी परिणाम प्राप्त गर्ने दिशामा निरन्तर सहकार्य हुने बताउनुभयो । 
 

बुधबार २४ असोज २०८० ०४:१२ PM मा प्रकाशित

प्रतिक्रिया