×

अल जजिरा टिभीकी पत्रकार शिरिनको गोली हानी हत्या

images

अल जजिरा टिभीकी पत्रकार शिरिन अबु अकलेहलाई इजरायली फौजले गोली हानी हत्या गरेको छ । वेस्ट ब्याङ्कमा रहेको शरणार्थी शिविरमा इजरायली सेनाको आक्रमणबारे समाचार सङ्कलनको क्रममा रहनुभएकी पत्रकार शिरिनलाई इजरायली फौजले गोली हानी हत्या गरेको हो । 

प्रेसको पहिचान खुल्ने ज्याकेट लगाएर रिपोर्टिङ गरिरहेको अवस्थामा पत्रकार शिरिनमाथि गोली प्रहार भएको अल जजिराले जनाएको छ । इजरायली सेनाको आक्रमणबाट अर्का एक प्यालेस्टाइनी पत्रकार अली अल समौदी घाइते भएका छन् । 

अल जजिराले विज्ञप्ति निकालेर हत्याको घटनाप्रति आपत्ति जनाउँदै इजरायली सेनालाई जिम्मेवार बनाउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको छ । इजरायली सेनाले बेस्ट ब्याङ्क क्षेत्रमा अत्यधिक बल प्रयोग गरेको अल जजिराको भनाइ छ । 

ह्युमन राइट्स वाचका लागि इजरायल र प्यालेस्टाइन निर्देशक ओमार शाकिरले इजरायली सेनाले पत्रकारमाथि गरेको आक्रमण असामान्य रहेको प्रतिक्रिया दिएका छन् । इजरायली सेनाले हत्याको बारेमा प्रतिक्रिया दिएको छैन ।

बुधबार २८ बैशाख २०७९ ०५:३३ PM मा प्रकाशित

प्रतिक्रिया