×

प्रचण्ड र आरजू राणालाई आयोगको २४ घण्टे स्पष्टीकरण

images

निर्वाचन आयोगले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस नेतृ आरजू राणालाई स्पष्टीकरण सोधेको छ। नेपाली कांग्रेस (बीपी) ले मतदातालाई धम्क्याएको भन्दै प्रचण्डविरुद्ध हिजो उजुरी दिएको हो ।

आयोगले प्रचण्डलाई सोधेको स्पष्टीकरणमा गएको २३ गते चितवनमा भएको सभामा आफ्नो पार्टीको चुनाव चिह्नमा भोट हालिँदैन भने देश दुर्घटनामा जान्छ भन्नुको मनसाय के हो ? यो अभिव्यक्ति प्रचलित निर्वाचन कानुन विपरीत छ, छैन ? पत्र प्राप्त भएको समयले २४ घण्टाभित्र जवाफ पेश गर्न भनेको छ । 

त्यस्तै निर्वाचन आयोगले नेपाली कांग्रेसकी नेतृ आरजू राणा देउवालाई पनि स्पष्टीकरण सोधेको छ । नेतृ राणाले कैलालीको धनगढी उपमहानगरपालिकामा भएको कार्यक्रममा मतदातालाई आर्थिक प्रलोभन देखाउने किसिमको अभिव्यक्ति दिएको भन्दै स्पष्टीकरण सोधेको हो । 

आयोगले गएको २२ गते हरिशप्रसाद अवस्थी र हिजो नेपाली कांग्रेस (बीपी) ले दिएको उजुरीका आधारमा राणालाई २४ घण्टे स्पष्टीकरण सोधेको हो । कैलालीमा भएको सभामा राणाले मतदातालाई आर्थिक प्रलोभन र गठबन्धनका उम्मेदवारलाई जिताए ५/६ जनालाई मलेसियाको लागि निःशुल्क भिसा टिकट उपलब्ध गराईदिने भनेकोबारे आयोगले स्पष्टीकरण सोधेको हो ।

बुधबार २८ बैशाख २०७९ ०१:०१ PM मा प्रकाशित

प्रतिक्रिया