×

स्थानीय चुनावको मौका छोपेर काठमाडौं उपत्यकामा दिउँसै चोरी

images

काठमाडौंको मुलपानी स्थित सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाको घरमा चोरी भएको छ । स्थानीय चुनावको सरगर्मी बढेको बेला घरमा कोही नभएको मौका छोपेर पूर्व एसएसपी थापाको घरबाट १६ तोला सुन र ६० हजार रुपैयाँ नगद चोरिएको हो । 

तग वैशाख २१ गते बुधबार कागेश्वरी मनहरा–६ मुलपानी स्थित घरमा कोही नभएको मौका छोपेर मूलढोकाको ताला फुटाएर चोरी गरिएको प्रहरीले बताएको छ । थापाले सो घर बिक्रीका लागी विज्ञापन राखेका थिए । 

घर किन्ने बहाना गरेर गएकाहरूले सुन चोरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । सो चोरीबारे अनुसन्धान भइरहेको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका एसपी कृष्ण कोइरालाले बताए । 

वैशाख ३ मा ललितपुरको सानेपामा पूर्व डीआईजीको घरमा चोरी भयो । सानेपा स्थित गोपाल रिजालको घरबाट चोरीमा संलग्न गिरोहले मूलढोकाको ताला फुटाएर करिब ४० लाखको सामान चोरेका थिए ।

चोरीमा संलग्न दुई जनालाई जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको शैलुङ्गेश्वर गाउँपालिका–८ घर भएका नारायण श्रेष्ठ उर्फ अर्जुन र काठमाडौँको टोखा घर भएका सौराज गजमेर उर्फ सौराज सुनार छन् । 

३२ वर्षीय नारायण श्रेष्ठले सामान चोरेर सौराज गजमेरलाई बेचेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी सिद्धिविक्रम शाहले बताए । चोरी गर्ने समूहका अन्य दुईजना आरोपी फरार छन् ।
 

बुधबार २८ बैशाख २०७९ ०५:१५ PM मा प्रकाशित

प्रतिक्रिया