×

प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अदालतले दियो अनुमति, चिकित्सकको सिफारिसमा उपचारको प्रबन्ध गर्न आदेश

images

काठमाडौं।  तीनकुने क्षेत्रमा भएको प्रदर्शनका मुख्य कमाण्डर दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न काठमाडौं अदालतले अनुमति दिएको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिर ढकालको इजलासले प्रसाईंलार्ई राज्यविरुद्धको कसुरमा १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो। त्यस्तै प्रसाईंसंगै पक्राउ परेका दीपक खड्कालाई पनि १२ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए।

प्रसाईं क्यान्सरको बिरामी भएका कारण इजलासबाट सम्बन्धीत चिकित्सकको सिफारिसमा उपचारको प्रबन्ध गर्न आदेश भएको श्रेष्ठले बताए।

प्रसाईं र खड्कालाई नेपाल प्रहरीको विशेष ब्युरोको टोलीले शुक्रबारै झापाको भद्रपुरबाट पक्राउ गरेको हो। पक्राउ गरे लगतै दुबैलाई शुक्रबार नै प्रहरीले काठमाडौं ल्याई सरकारी वकिल कार्यालय हुदै म्याद थपका लागि काठमाडौं अदालतमा उपस्थित गराएको थियो।

१५ चैतमा तीनकुनेमा भएको हिंस्रक राजाबादी आन्दोदनका उनी मुख्य कमाण्डर हुन्। उक्त प्रदर्शनमा दुई जनाले ज्यान गुमाएका थिए।

 प्रदर्शन हिंसात्मक बनेपछि प्रसाईं भने गाडी चढेर भागेका थिए । त्यसैदिन प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महासचिव तथा सांसद धवल शमशेर राणालाई पक्राउ गरेको थियो । प्रसाईं भने लामो समय फरार हुन भए । अन्तत: अहिले उनी प्रहरी हिरासत पुगेका छन् ।

प्रसाईंविरुद्ध शुक्रबार राज्य द्रोहविरुद्धको कसुर र संगठित अपराधको कसुरमा अदालतबाट म्याद थप भएको छ ।

ज्यान मार्ने नियतले गाडीले पेलेर अघि बढेको आरोपमा प्रसाईंविरुद्ध ड्युटीमा खटिएका प्रहरीले निवेदन दिने तयारी गरेका छन् । जसका कारण उनलाई ज्यानसम्बन्धी कसुरदेखि ज्यान मार्ने उद्योगसम्मको मुद्दा चल्नेछ ।

मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद १ मा राज्यविरुद्धको कसुरसम्बन्धी व्यवस्था छ । राज्यविरुद्धको कसुर अन्तर्गतको राजद्रोहको कसुरमा उनीमाथि म्याद थप भएको छ ।

संहिताको दफा ५० राजद्रोहको कसुरबारे उल्लेख छ । जसमा ‘नेपाल सरकार वा संवैधानिक संरचनालाई पल्टाउने नियतले कसैले सैनिक, अर्धसैनिक वा आपराधिक बलको प्रदर्शन वा प्रयोग गरी कुनै अव्यवस्था उत्पन्न गर्न वा हतियारसहित सैनिक वा अर्धसैनिक संगठन निर्माण गर्न वा त्यस्तो षडयन्त्र वा उद्योग गर्न वा गराउन वा दुरुत्साहन गर्न हुँदैन,’ उल्लेख गरिएको छ ।

यदि कसैले यस्तो कसुर गरेमा भने २५ वर्षसम्म कैद सजाय हुने व्यवस्था संहितामा उल्लेख छ । अब राजद्रोहको कसुरमा म्याद लिएपछि प्रहरीले उनीमाथि यसका प्रमाणहरू जुटाउनुपर्ने हुन्छ । यसका लागि काम भइरहेको प्रहरीको भनाइ छ ।

शुक्रबार​ २८ चैत २०८१ ०८:०९ PM मा प्रकाशित

प्रतिक्रिया