×

विश्वकै पहिलो नम्बर प्रदूषित सहरको सूचीमा रहेको काठमाडौं उपत्यका वर्षाका कारण १८औं स्थानमा

images

काठमाडौं । वर्षा भएपछि काठमाडौंको वायु प्रदूषण संलिएको छ। मंगलबारसम्म विश्वकै पहिलो नम्बर प्रदूषित सहरको सूचीमा रहेको काठमाडौं उपत्यका दुई दिन यताको वर्षाका कारणा संलिएको हो।

वर्षाका कारण काठमाडौंको वायु प्रदूषण कम भएको छ। बुधबार काठमाडौंमा छिटपुट वर्षा भए पनि बिहीबार राम्रै वर्षा भएको थियो। यसले गर्दा प्रदूषण घटेर हाल १८औं स्थानमा झरेको विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको ‘एयर क्वालिटी इन्डेक्स’ले जनाएको छ।

शुक्रबार बिहान साढे ५ बजेको मापन अनुसार काठमाडौंको समग्र एक्यूआई ९९ छ। हिजो बिहान यही सयममा एक्यूआई १५२ रहेको एयर क्वालिटी इन्डेक्सले जनाएको छ।

हाल वायु प्रदूषणको दृष्टिले कुबेत पहिलो र इराकको बग्दाज दोस्रो स्थानमा छन्। चीनको बेइजिङ तेस्रो स्थानमा छ। कुबेतको एक्यूआई यतिबेला ३९९७, बग्दादको ९४८ र बेइजिङको १६० छ। केही दिनअघि काठमाडौंको एक्यूआई पनि ३५२ सम्म पुगेको थियो।

विगत लामो समयदेखि पानी नपर्दा काठमाडौंको आकाशमा थुप्रिएको धुलो र उपत्यका आसपासका जंगलमा लागेको डढेलोको धुँवाको कारण काठमाडौं उपत्यकामा वायु प्रदूषणको मात्र उच्च रहेकोमा वर्षा भएसँगै सुधार देखिएको हो।

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार मानव स्वास्थ्यको लागि एक्यूआई ३५ भन्दा कम हुनुपर्छ। तर ५० सम्मको एक्यूआईलाई सामान्य नै मानिन्छ। त्यसभन्दा माथिको गुणस्तर एक्यूआई मानव स्वास्थ्यको लागि अस्वस्थकर मानिन्छ।

५१ देखि एक सयसम्मको एक्यूआइलाई होसियार रहुँ अथवा पहेँलो सङ्केत दिइन्छ। एक सय एकदेखि एक सय ५० सम्मको एक्यूआईलाई श्वाशप्रश्वास र मुटु रोगीका बिरामीलाई असर गर्छ भन्ने बुझिन्छ भने एक सय ५१ देखि दुई सयसम्मको एक्यूआइलाई अस्वस्थकर मानिन्छ।

दुई सय एकदेखि तीन सय सयसम्मको एक्यूआईलाई अति अस्वथ्य अवस्थाको वायू मानिन्छ। तीन सय एकदेखि चार सयसम्मलाई खतरनाक र चारसय एकदेखि चार सय ५० सम्मलाई अति खतरा मानिन्छ।

प्रदूषण घटेसँगै बालबालिका, वृद्धवृद्धा र दीर्घ रोगीलाई ठूलो राहत मिलेको छ। तर, वायु प्रदूषणले विशेष गरी बालबालिका, वृद्धवृद्धा, श्वासप्रश्वास र मुटुका बिरामी, गर्भवतीलाई बढी प्रभाव पार्ने भएकाले विशेष सावधानी अपनाउन आग्रह गरिएकव छ। घरबाहिर निस्कँदा मास्क प्रयोग गर्न तथा अनावश्यक रूपमा प्रदूषण उच्च भएको समयमा नजान चिकित्सकहरूले सुझाव दिँदै आएका छन्।

शुक्रबार​ २८ चैत २०८१ ०८:०६ AM मा प्रकाशित

प्रतिक्रिया