×

शीतल निवास र सिंहदरबारको फोहोर उठेन, केन्द्रीय सरकार मौन

images

काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहोरमैला व्यवस्थापन गर्ने संस्थालाई ‘भीआईपी’ सडक सफा नगर्न र तीन निकायको मूल सडकमै फोहोर थुपार्न दबाब दिएको छ ।

कामपाका मेयर बालेन्द्र साहका सचिवालय र नगर प्रहरीका अधिकारीले सरकारसँग बदला लिन र कामपाको माग पूरा गराउन सो दबाब दिएको सरोकारवालाको भनाइ छ । सरकारले त्रिभुवन विमानस्थल, नारायणहिटी दरबार हुँदै बालुवाटारसम्मको सडकलाई भीआईपी नामकरण गरेको छ ।

कामपाको वातावरण विभागले फोहोर व्यवस्थापन र सडक बढार्न नसकेपछि निजी क्षेत्रलाई जिम्मेवारी दिँदै आएको सिंहदरबारको दक्षिणी गेट, शीतल निवास र बालुवाटारको सडकमै फोहोर थुपार्न मेयर सचिवालयले दबाब दिएको छ । तर, केन्द्रीय सरकारले भने यसबारेमा आधिकारिक रूपमा मुख खोलेको छैन ।

फोहोर संकलन गर्न नदिएपछि निजी क्षेत्रले हिजो आइतबार सिंहदरबारभित्रको फोहोर संकलन गरी मुख्यसचिव कार्यालय नजिकको पुतली बगैंचामा थुपारेको थियो ।

मेयरका पूर्वाधारविज्ञ सुनील लम्सालले सरकारले महानगरले राखेका मागको विषयमा कुनै पनि सुनुवाइ नगरेपछि राष्ट्रपति निवास, प्रधानमन्त्री कार्यालय र सिंहदबारभित्रको फोहोर संकलन र ढुवानी बन्द गरेको पुष्टि गर्दै भने– ‘हामीले महानगर क्षेत्रको ढल व्यवस्थापनदेखि नदी किनारको सुकुम्बासी बस्ती खाली गर्न सहयोग गर्नुपर्नेसम्मको माग राखेका थियौं । उक्त माग पूरा गर्ने विषयमा चासो नदेखाएपछि फोहोर संकलन र ढुवानी बन्द गरेका हौं ।’

उनले कामपाले राखेको माग सम्बोधन नगरेसम्म फोहोर नउठाउने बरु दबाबका थप कार्यक्रम सार्वजनिक गर्ने बताए । यसैबीच कामपाले कामपाको सहमतिबेगर बञ्चरेडाँडामा फोहोर बिसर्जन गरे तत्काल कारबाही गर्ने चेतावनी पनि दिएको छ । नेपाल समाचारपत्र दैनिकबाट

मङ्गलबार २८ चैत २०७९ ०७:५२ AM मा प्रकाशित

प्रतिक्रिया