×

उपत्यकामा वर्षा हुने सम्भावना निकै कम

images

काठमाडौँ : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शुक्रबार प्रदेश नम्बर १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ।

सोही प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपात हुनसक्ने सम्भावना रहेको छ।

देशमा पश्चिमी वायुको सामान्य प्रभाव अझै रहेकाले यतिबेला पहाडी भेगमा मौसम आंशिक बदली हुनुका साथै तराईका केही स्थानमा हुस्सु र कुहिरो लागिरहेको महाशाखाले जनाएको छ।

बागमती प्रदेशअन्तर्गत काठमाडौंमा उपत्यकामा भने वर्षाको सम्भावना निकै कम रहेको मौसमविद् राजु प्रधानाङ्गले सेतोपाटीलाई जानकारी दिए। ‘वर्षा र हिमपात गराउने पश्चिमी वायुको प्रभाव निकै घटेको छ। डाँडातिर फाटफुट वर्षा भए पनि काठमाडौंमा आजलाई पानी पर्ने सम्भावना देखिएको छैन।’


महाशाखाका अनुसार भोलि शनिबार दिउँसो तथा राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ मौसम महाशाखाले जनाएको छ। 

आइतबार दिउँसो तथा राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। 
 

शुक्रबार​ २८ माघ २०७८ ०४:४७ PM मा प्रकाशित

प्रतिक्रिया