×

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

images

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- नेकपा एमालेले महाधिवेशनबाटै नेतृत्व परिवर्तन गर्ने प्रक्रियामा जाने निष्कर्ष निकालेको छ । शुक्रबार बसेको सचिवालय बैठक बारे जानकारी दिदै एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अहिले नेतृत्वका विषयमा उठेका विषयमा छिटै महाधिवेशन गरेर सम्बोधन गर्ने विषयमा छलफल भएको जानकारी दिएका छन् । उनले यस बारेमा पार्टीमा स्पष्ट प्रस्ताव ल्याउने समेत बताए । त्यस्तै बैठकमा सरकारले देशलाई निर्वाचन तिर होइन थप द्वन्दतिर धकेल्न खोजेको विषयमा छलफल भएको बताउदै ज्ञवालीले सरकारले राजनीतिक दलहरुलाई निषेध गर्न खोजेको आरोप लगाएका छन् । ज्ञवालीले निर्वाचनमा जाने विषयमा निर्णय गर्ने बताउदै सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको बताए । उनले आफुहरु विभिन्न दलहरुसँग संवादमा रहेको भन्दै समान धारणा बनाउन प्रयत्न गर्ने बताए । उनले नेतृत्व परिवर्तन गर्ने कुरा पार्टीमा उठेको भन्दै संकटको बेलामा नेतृत्वको प्रतिरक्षा गर्नुपर्ने र युवाहरुको भावनाको पनि सम्मान गर्नुपर्ने अवस्था रहेकोले महाधिवेशनसम्म जादा सबैको विषय सम्बोधन हुने बताए ।

२- नेपाल राष्ट्र बैंकले डेबिट कार्डबाट हुने कारोबारको सीमा घटाएको छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले शुक्रबार भुक्तानी प्रणाली सम्बन्धि एकीकृत निर्देशन २०८१ मा संशोधन गर्दै डेबिट कार्डबाट हुने भुक्तानीको सीमा घटाएको हो । जस अनुसार बा डेबिट कार्डबाट प्रतिकरोबार २० हजारसम्म कारोबार गर्न सकिने छ भने प्रतिदिन ५० हजार र प्रतिमहिना ३ लाख तोकिएको छ । यसअघि डेबिट कार्डबाट प्रतिकरोबार २५ हजार, प्रतिदिन एक लाख र प्रतिमहिना ४ लाखसम्म कारोबार गर्न सकिने व्यवस्था रहेको थियो ।

३- नेपाली सेनाले आफ्नो बारेमा सामाजिक संजाल र मिडियामा भएका टिका टिप्पणीप्रति ध्यानाकर्षण भएको जनाएको छ । शुक्रबार एक अपिल जारी गर्दै आन्तरिक सुरक्षामा पर्न सक्ने असरलाई वस्तुपरक ढंगले मूल्याङ्कन गरी छिटो भन्दा छिटो शान्ति सुरक्षा कायम गर्ने उद्देश्यका साथ नेपाली सेनाले आवश्यकता अनुसार पहलता लिएको अवगत गराउदै हालको संवेदनशील अवस्थामा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत संस्था र नेतृत्वलाई जोडेर विभिन्न प्रकारका टिका टिप्पणी र धारणाहरू सम्प्रेषण भएकोमा नेपाली सेनाको ध्यानाकर्षण भएको जनाएको हो । नेपाली सेनाले भनेको छ:  गत भाद्र २३ र २४ गतेको विषम परिस्थितिलाई सामान्यीकरण गर्ने सम्बन्धमा नेपाली सेनाले वहन गरेको भूमिका प्रति विद्वतवर्ग, समाजसेवी, सञ्‍चारकर्मी तथा आम नागरिकहरूबाट प्राप्त भएका विभिन्न रायसुझाव तथा समालोचनात्मक अभिव्यक्ति प्रति हार्दिक आभार व्यक्त गर्दछौँ । आन्तरिक सुरक्षामा पर्न सक्ने असरलाई वस्तुपरक ढंगले मूल्याङ्कन गरी छिटो भन्दा छिटो शान्ति सुरक्षा कायम गर्ने उद्देश्यका साथ नेपाली सेनाले आवश्यकता अनुसार पहलता लिएको अवगत गराउन चाहन्छौँ । हालको संवेदनशील अवस्थामा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत संस्था र नेतृत्वलाई जोडेर विभिन्न प्रकारका टिका टिप्पणी र धारणाहरू सम्प्रेषण भएकोमा नेपाली सेनाको ध्यानाकर्षण भएको छ । नेपाली सेनाले आफ्नो धारणा र गतिविधिहरू नियमित रूपमा प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएको तथ्य समेत जानकारी गराउँदछौँ । तसर्थ, नेपाली सेना सम्बन्धी जानकारी लिनका लागि जनसम्पर्क तथा सूचना निर्देशनालयसँग सम्पर्क गरी यथार्थपरक सूचनाहरू सम्प्रेषण गरी दिनुहुन आम जनसमुदायमा नेपाली सेना हार्दिक अपिल गर्दछ ।

४- मैत्रीपूर्ण फुटबल खेलमा ब्राजिलले दक्षिण कोरियालाई पराजित गरेको छ । शुक्रबार सोलस्थित वर्ल्ड कप स्टेडियममा सम्पन्न खेलमा ब्राजिलले दक्षिण कोरियालाई ५-० गोल अन्तरले पराजित गरेको हो । ब्राजिलको जितमा एस्टेभाओ र रोड्रीगोले २-२ गोल गरेका थिए भने भिनिसियस जुनियरले एक गोल गरेका थिए । यस अन्तर्राष्ट्रिय ब्रेकमा ब्राजिलले अब अर्को खेल अक्टोबर १४ मा जापानविरुद्ध खेल्ने तालिका रहेको छ । त्यस्तै दक्षिण कोरियाले अक्टोबर १४ मा पराग्वेसँग खेल्ने तालिका रहेको छ ।

५-  इजरायल र हमासबीच युद्धविराम र बन्धक रिहाइ सम्झौताको घोषणा भएपछि गाजाका जनतामा खुशी छाएको छ । योसँगै इजरायली सेनाले गाजाका केही क्षेत्रहरूबाट आंशिक फिर्ता सुरु गरेको छ । स्थानीयहरूले इजरायली सेनाहरू उत्तरपश्चिमी तर्फको गाजा शहरको बाहिरी इलाकाबाट पूर्वमा रहेको 'पहेंलो रेखा' तर्फ पछि हटेको बिबिसीलाई बताएका छन् । इजरायली सेनाले सम्झौता अनुसार यो कदम चालेको बताएको छ । यद्यपि, सम्झौता अन्तर्गत इजरायली सेना फिर्ता हुने धेरै क्षेत्रहरूमा बख्तरबंद सवारी साधन र ट्याङ्कहरू तैनाथ नै रहेका छन् । यसमा दक्षिणी गाजामा रहेको खान युनिस र तटीय क्षेत्रहरू समावेश छन् । स्थानीयहरूले तटीय क्षेत्रहरूमा तैनाथ ट्याङ्कहरूले शुक्रबार बिहान गोलीबारी चलाएका थिए, जसले गर्दा सयौं विस्थापित मानिसहरूलाई रशिद स्ट्रिट हुँदै उत्तरतिर आफ्नो घर फर्कनबाट रोकिएको थियो । युद्धविराम घोषणाको बावजुद, शुक्रबार उत्तरी र दक्षिणी गाजाका केही भागहरूमा अझै पनि विस्फोटहरू सुनिएका थिए । धेरै मानिसहरूले युद्धविराम औपचारिक रूपमा कहिले लागू हुनेछ र घर फर्कन कहिले सुरक्षित हुनेछ भन्ने कुरा अझै स्पष्ट नभएको बताएका छन् ।

६-  नेपाल चेम्बर अफ कमर्सले निर्यात अनुदान बन्द नगर्न सरकार समक्ष आग्रह गरेको छ । चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवाल सहितको पदाधिकारी र कार्यसमिति टोलीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अनिल कुमार सिन्हासमक्ष सिंहदरवारमा आज भेटवार्ता गर्दै निर्यातमा दिईदै आएको सहुलियत अनुदान बन्द नगर्न आग्रह गरेको हो । आन्तरिक उत्पादनहरुको निर्यात क्षमता प्रतिस्पर्धी बन्न नसकेको, उत्पादन लागत उच्च भएको बेलामा सरकारको पछिल्लो निर्णयले निर्यात निरुत्साहित हुने चेम्बरद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । अर्थतन्त्रका विद्यमान समस्या समाधान र लगानीकर्ताको मनोबल उकास्नेगरी नीतिगत सहजता गर्न चेम्बरले उद्योगमन्त्री सिन्हासमक्ष आग्रह समेत गरेको छ । वर्तमान परिस्थितीमा औद्योगिक तथा व्यवसायिक सुरक्षाको प्रत्याभूतिका साथै लगानीमैत्री वातावरण निर्माण गर्न चेम्बरले आग्रह गरेको हो ।

७- संघीय राजधानी काठमाडौंलाई बाग्मती, मधेश र कोशी प्रदेशका जिल्लाहरुलाई जोड्ने विपी राजमार्ग शुक्रबार दिउँसोबाट सञ्चालनमा आएको छ । असोज १७, १८ र १९ गतेको लगातार भएको वर्षा सँगैको बाढी पहिरोबाट राजमार्गको काभ्रे र सिन्धुलीको विभिन्न १३ ठाउँमा क्षति पुगेको करिब ४ किलोमिटर सडकलाई अस्थायी रुपमा मर्मत गरी एकतर्फी रुपमा सञ्चालन गरिएको छ । सडक दुईतर्फी रुपमा भने आइतबारबाट सञ्चालनमा आउने संघिय सडक सुपरिपेक्षण तथा अनुगमन कार्यालय काठमाडौँका प्रमुख शुभराज न्यौपानेले बताए  । अवरुद्ध भएको सडक खुलाउन रोशीखोलमा डाइसर्भन निर्माण, बगरलाई मिलाउने र खाल्डा पुरिएको छ । क्षति पुगेको सडक सोमबारबाट मर्मत सुरु गरिएको थियो । बाढीपहिरोले काभ्रेको चौकीडाँडामा सडकलाई सबैभन्दा बढी क्षति पुर्याएको थियो । काभ्रेको कटुञ्जे, चारसयबेंसी, चिउरीबास, मङ्गलटार (बोक्सीकुना), कालढुङ्गा, पिप्ले (माथिल्लो), पिप्ले (तल्लो), मान्ती (माथिल्लो) र मान्ती (तल्लो)मा सडक क्षति पुगेको थियो । यसैगरी, सिन्धुलीको बालुवा, आँपघारी र नेपालथोक (झोलुङ्गे पुल) मा सडक क्षति पुगेको थियो ।

८- पुर्व गृहमन्त्री रमेश लेखकले आफुले जेनजी आन्दोलनमा आफु र तत्कालिन प्रधानमन्त्रीले कुनै किसिमको आदेश नदिएको बताएका छन् । मिडियामा पहिलो पटक प्रतिक्रिया दिदै आन्दोलनका क्रममा प्रधानमन्त्री र आफुले कुनै किसिमको गोली चलाउने र दमन गर्ने आदेश नदिएको स्पष्ट गरेका हुन् । उनले भने- 'भदौ २३ गते दुखद खट्न भएपछि मैले गृहमन्त्रीबाट राजीनामा गरेको थिए । भदौ २४ गते दुखदायी घटनाहरु भए । अर्कोतर्फ बल प्रयोग गर्ने विषयमा तत्कालिन प्रधानमन्त्रीले, गृहमन्त्रीले आदेश गरेको हो भन्ने विषय उठेका छन्, म स्पष्ट रुपमा आग्रह गर्न चाहन्छु, यी विषयहरुमा प्रधानमन्त्री जो भएपनि, गृहमन्त्रीले आदेश गर्ने भन्ने विषय होइनन् । कुनै किसिमको आदेश गरिएको छैन, प्रधानमन्त्रीको तर्फबाट, मेरो तर्फबाट ।' लेखकले अहिले लोकतान्त्रिक पद्धतिलाई संचालन गर्न सबै राजनीतिक दलहरुबीच बृहत्तर एकताको आवश्यकता गरेको बताउदै जेनजी युवाहरुले उठाएका मागलाई सम्बोधन गर्दै लोकतान्त्रिक पद्धतिलाई अगाडी बढाउनुपर्ने बताए ।

९- प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले राजीनामा दिने अभिव्यक्ति नदिएको बताएका छन् । महानिरीक्षक खापुङ्गको अभिव्यक्ति भन्दै 'पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाब सिर्जना गरिए वा बाध्य बनाइए राजीनामा दिन्छु' भन्ने अभिव्यक्ति नदिएको भन्दै भ्रामक समाचारहरू बारे प्रहरी प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महानिरीक्षकले कहीँ कतै त्यस्तो आशय झल्कने अभिव्यक्ति नदिएको जानकारी गराउँदै प्रधानमन्त्री र गृहमन्त्रीसँग भएका सुरक्षा बैठक र प्रतिवेदनहरूमा समसामयिक घटनाक्रमहरू वा सोबाट सिर्जित सुरक्षा चुनौतीहरूको बारेमा विश्लेषण गर्दै शान्ति सु-व्यवस्था कायम गर्ने विषयमा मात्र केन्द्रित भई सौहार्दपूर्ण छलफल गरेको प्रहरी प्रधान कार्यालयले स्पष्ट गरेको छ ।

१०- यस बर्षको नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोले पाएकी छन् । शुक्रबार नर्वेली नोबेल समितिले भेनेजुएलाका जनताको लागि लोकतान्त्रिक अधिकारको प्रवर्द्धन गर्ने र तानाशाहीबाट लोकतन्त्रमा न्यायपूर्ण र शान्तिपूर्ण संक्रमण प्राप्त गर्न गरेको संघर्षको लागि माचाडोलाई २०२५ को नोबेल शान्ति पुरस्कार प्रदान गर्ने निर्णय गरेको जनाएको छ ।यस बर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, एलन मस्क, पाकिस्तानका पुर्व प्रधानमन्त्री इमरान खान लगायत नोबेल शान्ति पुरस्कार पाउन सक्नेमा चर्चामा रहेका थिए ।  

११- नेपाल राष्ट्र बैंकले क्यासिनो लगायतका संस्थाहरूले इजाजतपत्र लिएर मात्र विदेशी मुद्राको कारोबार गर्न आग्रह गरेको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले शुक्रबार सुचना जारी गर्दै क्यासिनोलाई विदेशी विनिमयको कारोबार गर्न इजाजतपत्र प्रदान गर्ने सम्बन्धमा 'नेपाल राष्ट्र बैंक, विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७' को परिच्छेद-४ मा व्यवस्था गरिएको उल्लेख अग्र्दै ऐनको उल्लिखित व्यवस्था बमोजिम क्यासिनो लगायतका संस्थाहरूले राष्ट्र बैंकबाट इजाजतपत्र लिएर मात्र विदेशी विनिमय (भारतीय मुद्रासमेत) को कारोबार गर्नु निर्देशन दिएको हो ।

१२- काठमाडौँमा कुनै पनि -याली, प्रदर्शन जस्ता कार्यक्रम गर्न कसैलाई पनि स्वीकृति प्रदान नगर्ने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले विभिन्न समूहहरुबाट हुने भनिएका -याली, जुलुश, धर्ना, सभा र प्रदर्शन जस्ता गतिविधिहरुले सुरक्षा चुनौति बढाउन सक्ने र आम नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउने कार्यमा थप जटिलताको अवस्था हुन जाने भएको हुँदा यस कार्यालयबाट त्यस प्रकारका कुनै पनि -याली, प्रदर्शन जस्ता कार्यक्रम गर्न कोही कसैलाई पनि स्वीकृति प्रदान नगर्ने भनी निर्णय भएको जानकारी दिएको छ । प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले शुक्रबार एक सूचना प्रकाशित गर्दै पूर्व स्वीकृति विना कुनै पनि प्रकारका कार्यक्रमहरु नगर्न नगराउन सबैमा आग्रह समेत गरेका छन् ।

१३- नेपाली ६ महिला क्रिकेटरले मलेसियामा एमसीए वुमन इन्टर स्टेट टी-२० च्याम्पियनसिप खेल्ने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले मलेसियन क्रिकेट एसोसियसनले आयोजना गर्ने यस प्रतियोगितामा नेपालका सीता राना मगर, कविता जोशी, राजमती ऐरी, रुबिना क्षेत्री, पुजा महतो र कविता कुँवर खेल्न लागेको जानकारी दिएको छ । क्यानका अनुसार सीता, कविता जोशी, राजमती सेलांगर क्रिकेट एसोसियसनबाट खेल्दैछन् भने रुबिना, पुजा र कविता कुँवर सारावाक क्रिकेट एसोसियसनबाट खेल्ने भएकाछन् । प्रतियोगिता अक्टोबर १८ देखि २८ सम्म मलेसियाको क्वालालम्पुरमा हुने क्यानले जानकारी दिएको छ ।

१४-  इजरायली सरकारले युद्धविराम सम्झौता अनुमोदन गरेको २४ घण्टापछि शनिबार बिहानदेखि गाजामा युद्धविराम लागू हुने भएको छ । युद्धविरामको ७२ घण्टा भित्र बन्धकहरूलाई रिहा गरिने बताइएको छ । हाल हमासले बन्धक बनाएका बीस जना इजरायलीहरू अझै जीवित रहेको विश्वास गरिएको छ । यी बन्धकहरूको बदलामा, इजरायलले आफ्नो जेलबाट सयौं प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्न सहमत भएको छ । सबै बन्धकहरुको रिहाई हुने भनिएको भएपनि नेपालका विपिन जोशी र इजरायलका सैनिक तामिर निमरोदीको अवस्था अझै अज्ञात रहेको छ । हमासले बन्धक बनाएका अन्य २६ जनाको मृत्यु भएको बताइएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सम्झौताको वार्तामा सहयोग गरेकोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद दिएका छन् । नेतान्याहूलाई आफ्नै राजनीतिक उद्देश्यका लागि द्वन्द्व लम्ब्याएको आरोप लगाइएको छ । यसैबीच, हमास गाजा प्रमुख खलील अल-हय्याले अमेरिका र अन्य मध्यस्थकर्ताहरूले युद्ध समाप्त भएको ग्यारेन्टी दिएको बताएका छन् । 

१५- नेपाल राष्ट्र बैंकले विदेशबाट आयत गर्न सकिने सुनको सीमालाई बढाएको छ । बैंकले शुक्रबार एकीकृत परिपत्र-२०८१ मा संशोधन गर्दै इजाजत प्राप्त निकायले यसअघि ल्याउन पाउने दैनिक २० किलोको सीमालाई बढाएर २५ किलो बनाएको हो । 

१६- जेनजी आन्दोलनका क्रममा उत्तर पुस्तिका नष्ट भएका त्रिभुवन विश्वविद्यालयका विद्यार्थीको पुनः परीक्षा सञ्चालन हुने भएको छ । भदौ २२ र २३ गतेको जेनजी आन्दोलनका क्रममा झापाको कन्काई आदर्श क्याम्पस बिर्तामोड, रौतहट चन्द्रनिगाहपुरको जजनाज्योति क्याम्स र दाङको घोराहि स्थित सिद्ध रत्ननाथ क्याम्पस परीक्षा केन्द्रका परीक्षा रद्द गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।  यहाँस्थित इलाका प्रहरी कार्यालयमा तोडफोड र आगजनी हुँदा त्यहाँ राखिएका उत्तर पुस्तिका नष्ट भएकाले पुनः परीक्षा सञ्चालन गरिने कार्यालयले जनाएको छ । परीक्षाको समय तालिका पछि तोकिने कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ । यी परीक्षा केन्द्रहरूमा भदौ २२ र २३ गते लिइएका परीक्षाका उत्तर पुस्तिका नष्ट भएकाले परीक्षा रद्द गरिएको कार्यालयले जनाएको छ । स्नातक तह दोस्रो वर्षको आंशिक र मौका परीक्षा दिएका करिब साढे छ सय विद्यार्थीका उत्तर पुस्तिका नष्ट भएको अनुमान गरिएको छ । परीक्षा नियन्त्रण कार्यालयले सो परीक्षा केन्द्रमा परीक्षा परेका क्याम्पसहरुले आ-आफ्ना विद्यार्थीहरुलाई उक्त दिनका परीक्षा पुन: दिनुअप्रने जानकारी गराइदिन समेत अनुरोध गरेको छ ।

१७- नेपाली बजारमा आज सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन तोलाको ४२  सयले घटेर तोलाको २ लाख ३५ हजारमा कारोबार भइरहेको छ । यस अघि विहिबार सुन तोलाको २ लाख ३९ हजार २ सयमा कारोबार भएको थियो, जुन सुनको अहिलेसम्मकै उच्च मुल्य थियो । यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ६० रुपैयाँले बढेर ३०८५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ३०२५ मा कारोबार भएको थियो ।

१८-  इजरायल र हमासबीच युद्धविरामको सम्झौतापछि बन्धक रिहा हुने भएका छन् । हमासको बन्धकमा रहेकाको सूची सार्बजनिक भएको छ । जसमा अहिले हमाससँग २० बन्धक जीवित भएको बताइएको छ र उनीहरुको सूची सार्बजनिक भएको छ । त्यस्तै नेपालका विपिन जोशी र इजरायलका सैनिक तामिर निमरोदीको अवस्था अज्ञात रहेको छ । त्यस्तै हमासले बन्धक बनाएका अन्य २६ जनाको मृत्यु भएको छ । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार मंगलबारसम्म हमासले बन्धक बनाएका सबै जना रिहा हुने बताएका छन् ।

१९-  शिक्षामन्त्री महावीर पुनले सिटीइभिटीको पुर्नसंरचना गर्न कार्यदल बनाउने निर्णय गरेका छन् । मन्त्री पुनले सिटीइभिटीको पुर्नसंरचना गरेर सक्षम जनशक्ती उत्पादन गर्न सक्ने बनाउनको लागि कार्यदल तुरुन्त बनाउने निर्णय गरेको जानकारी दिएका छन् । उनले आफुले विहिबार गरेका छलफल, निर्णय तथा निर्देशनको जानकारी दिदै नेपालमा रहेका क्यान्सर अस्पतालहरूमा क्यान्सर बिरामीहरुको उपचारमा प्रयोग हुने अति आवश्यक रेडियोधर्मी औषधिहरुको उत्पादन नेपाल मै गर्नको लागि मात्र आणविक अनुसन्धान केन्द्र तुरुन्त खोल्न आवश्यक कदम अगाडि बढाउने निर्णय भएको बताएका छन् ।  त्यस्तै पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) मा बैज्ञानिक अनुसन्धान र नवप्रवर्तन गर्ने कामलाई उपलब्धिमुलक बनाउन, प्रतिभाशाली नेपालीहरुलाई तान्न र संस्थालाई प्रभावकारी रूपमा काम गर्न सक्ने बनाउन आवश्यक सुधार र पुर्नसंरचना गर्न कार्यदत तुरुन्त बनाउने निर्णय भएको जानकारी दिएका छन् । त्यस्तै त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समिति (२०८१) ले नेपाल सरकारलाई पेश गरेको प्रतिवेदन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गर्ने निर्णय गरेका छन् । त्यसैगरी मन्त्री पुनले संस्कृत विश्वविद्यालयमा रिक्त रहेको सेवा आयोगको पदाधिकारीहरुको रिक्त स्थानमा नियमानुसार तुरुन्त नियुक्ती गर्ने निर्णय भएको जनाएका छन् ।

२०- दक्षिण अफ्रिकाले जारी महिला क्रिकेट विश्वकपमा भारतलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा दक्षिण अफ्रिकाले भारतलाई ३ विकेटले पराजित गरेको हो । भारतले दिएको २५२ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले ४८.५ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि पहिला ब्याटिंग गरेको भारतले ४९.५ ओभरमा अल आउट हुदै २५१ रन बनाएको थियो । यो जितपछि दक्षिण अफ्रिकाको ३ खेलमा २ जित र एक हारसहित ४ अंक रहेको छ र अंक तालिकामा हाल चौथो स्थानमा रहेको छ । त्यस्तै भारतको ३ खेलमा २ जित र एक हारसहित ४ अंक रहेको छ । भारत अंकतालिकामा हाल तेस्रो स्थानमा रहेको छ । जारी विश्वकपमा आज  बंगलादेश र न्यूजील्याण्डबीच खेल हुदैछ ।

शुक्रबार​ २४ असोज २०८२ ०८:३९ PM मा प्रकाशित

प्रतिक्रिया