×

नेपालमा पहिले कायम भएको उच्च तापक्रमको रेकर्ड तोडियो

images

काठमाडौं । नेपालमा पहिले कायम भएको उच्च तापक्रमको रेकर्ड हालैको तापलहरका कारण यस वर्ष धमाधम तोडिन थालेको छ। तातो हावा र लू एकसाथ नेपालको वायुमण्डलमा चलायमान भएकाले नेपालमा तापलहरको तीव्र अवस्था सिर्जना भएको हो।

यसअघि भएका रेकर्ड तोडिने क्रम तराईमा मात्र नभई पहाडका विभिन्न भूभागमा पनि जारी रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। जलवाष्प नभएको सुक्खा तातो हावा र लूको दोहोरो चाप नेपालको मौसममा परिरहेकाले पहिलेका उच्च तापक्रमको रेकर्ड तोडिन थालेको विभागका उपमहानिर्देशक डा अर्चना श्रेष्ठले बताईन् ।

तापक्रमको पहिलो ‘रेकर्ड ब्रेक’ मध्य तराईको नवलपरासीको दुम्कौली र पहाडी क्षेत्रको ओखलढुङ्गामा एकैदिन भएको मौसमविद् शान्ति कँडेलले जानकारी दिईन्। उनका अनुसार तापक्रम ब्रेक हुन पहिले कायम भएको तापक्रमभन्दा माथिको तापक्रम लगातार तीनदेखि पाँच दिनसम्म कायम हुनुपर्ने मापदण्ड रहन्छ।

त्यही अनुसार लगातार तीन दिनसम्म ४३.८ डिग्री सेल्सियस कायम रहँदै दुम्कौलीमा बुधबार अर्थात् जुन ७ तारिखमा यसअघिको तापक्रमको रेकर्ड ब्रेक भएको हो। शुक्रबार त्यहाँ ४४ डिग्री सेल्सियस पुगेको छ। त्यस क्षेत्रमा यसअघि सन् १९७९ जुन ५ तारिखमा अधिकतम तापक्रम ४३.७ डिग्री सेल्सियस कायम भएको थियो। बिहीबार मोरङको कानेपोखरीमा पनि ४४ डिग्री सेल्सियस मापन भएको थियो।

त्यस्तै चिसो हावापानी भएको मानिने ओखलढुङ्गामा तापक्रम बढ्दै बुधबार रेकर्ड ब्रेक हुँदै अधिकतम तापक्रम ३१.३ डिग्री सेल्सियस रेकर्ड भयो। यसअघि त्यस क्षेत्रमा सन् १९९९ अप्रिल २८ तारिखमा अधिकतम तापक्रम ३०.९ डिग्री रेकर्ड भएको थियो।

त्यस्तै इलामको कन्याम चिया बगानमा पनि गत सोमबार हालसम्मकै अत्यधिक तातो ३० डिग्री रेकर्ड भएको छ। त्यहाँ यसअघि सन् १९७३ जुलाई १० तारिखमा २९ डिग्री सेल्सियस अधिकतम तापक्रम रेकर्ड भएको थियो।

धरान बजारमा पनि यसअघि सन् २०१३ अप्रिल १२ तारिखमा ३८.८ डिग्री सेल्सियस अधिकतम तापक्रम रहेकोमा गत बुधबार ३९.३ डिग्री सेल्सियस पुग्यो। नेपालगन्ज, धनगढी, जनकपुर, विराटनगर, सिमरा, भैरहवा, कपिलवस्तुलगायतका स्थानमा उच्च तापक्रमको दर बढ्ने क्रममा रहेकाले पुरानो रेकर्ड ब्रेक हुने उच्च सम्भावना देखिएको मौसमविद् कँडेलको भनाई छ। नेपालमा अहिलेसम्म सन् १९९९ को जुन ५ मा धनगढीमा रेकर्ड भएको ४६.४ डिग्री सेल्सियस सबैभन्दा उच्च तापक्रम हो। गोरखापत्र दैनिकबाट

शनिबार २७ जेठ २०८० १०:०२ AM मा प्रकाशित

प्रतिक्रिया