काठमाडौं। राष्ट्रिय सभाले, अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक २०७९ र भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक २०७९ सर्वसम्मतिले पारित गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तर्फबाट कृषि तथा पशुपन्छी मन्त्री डाक्टर वेदुराम भुसालले पेश गरेका ती दुवै विधेयक सभाले सर्वसम्मतिले अनुमोदन गरेको हो । अब ती दुवै विधेयक सन्देशसहित प्रतिनिधिसभामा पठाइनेछ ।
त्यस्तै, सोमबारको बैठकले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग(तेस्रो संशोधन) विधेयक र भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक २०७६ माथि छलफल गरियोस् भन्ने प्रस्ताव पनि सर्वसम्मतिबाट स्वीकृत गरेको छ ।
प्रस्तावमाथिको छलफलमा सदस्य जीतेन्द्रनारायण देव, डा विमला राई, सुरेश आलेमगर र रामचन्द्र राईले भाग लिएका थिए । उनीहरुले अख्तियारको काम कारबाही र प्रभावकारिता बढाउनका लागि आवश्यक व्यवस्था गरिनुपर्नेमा ध्यानाकर्षण गराएका छन् ।
प्रस्तावमाथि सदस्यले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री भुसालले राष्ट्रियसभाबाट पारित भएर पठाएको प्रस्तावलाई प्रतिनिधिसभामा पनि गहन छलफल गरी समृद्ध बनाइने बताए ।
राष्ट्रियसभाको अर्को बैठक यही चैत ३० गते बिहीबार दिउसोका लागि बोलाइएको छ ।
प्रतिक्रिया