म देख्न सक्दिनँ
निमोठिएका हजारौं कोपिलाहरु
म देख्न सक्दिनँ
उखेलिएका सहस्र श्रीखण्ड र पारिजातहरु
म देख्न सक्दिनँ
धुँवाधुलोले छोपिएको शरीर
म देख्न सक्दिनँ
यो धर्तीको धमिलो आकृति ।
रम्छु म प्रकृतिकै काखमा
जहाँ सपनाहरु फुलुन्
मनहरु सुसेल्दै लुकामारी खेलुन्
झुसिल्किराले काँचुली फेरुन्
र जिन्दगीले गाउन सकोस्_
प्रीतको मीठो गीत
आहा !
कति छ्याङ्ग हुनेछ
यो इन्द्रेणी आकाशको अनुहार ।
प्रकृतिको अँगालोमा बसेर
म लेख्न चाहान्छु
एउटा अलिखित इतिहास
जसका अध्यायहरु पढेर
ब्युँझन सकुन् शाश्वत आकृतिहरु ।
प्रतिक्रिया