×

राति पनि मत गन्‍न सजिलो होस् भनेर हरियो मतपत्र बनायौँ : आयोग

images

काठमाडौं। निर्वाचन आयोगले मत गणनामा समस्या हुने भएपछि स्वस्तिक छाप र चुनाव चिन्हको रङ एउटै नहोस् भनेर हरियो मतपत्र बनाएको प्रष्ट पारेको छ। 

वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा आयोगले मतपत्र हरियो बनाउने निर्णय गरेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्टि जनाएपछि आयोगले त्यसबारे प्रष्ट पारेको हो। ओलीले कांग्रेसको चुनाव चिह्न रूख भएकाले सबैले हरियो मात्रै देखून् भनेर हरियो मतपत्र राख्न लागेको हो? भन्दै प्रश्न गरेका थिए। 

आयोगको नियमित पत्रकार सम्मेलनमा आयोगका सह-प्रवक्ता सूर्यप्रसाद अर्यालले भने, ‘नितान्त प्राविधिक कारणले हरियो मतपत्र राख्ने निर्णय गरेको हौँ। २०७४ सालमा भएको निर्वाचनमा चुनाव चिह्नहरूको रङ नीलो थियो। स्वस्तिक छापको रङ एउटै पर्दा गणना गर्न गाह्रो भयो।’

स्थानीय तहको निर्वाचनमा ७ ठाउँमा हाल्नुपर्ने भएकाले समस्या देखिने भएपछि मतपत्रको रङ फेर्न लागेको प्रष्ट पारे। 

उनले भने, स्थानीय तहको निर्वाचनमा ७ ठाउँमा हाल्नुपर्छ। त्यसले तल्लो तल्लोमा पुग्दा मधुरो हुने भएर राति गणना गर्न गाह्रो भयो। रातको समयमा बत्तीको कम देखिने स्वस्तिक छाप लगाएका छ छैन भनेर चिन्न गाह्रो पर्ने भयो।’

गत सालको अनुभव र विज्ञहरुको सुझावको आधारमा मतपत्रको रङ फेरेको बताए।  उनले भने, ‘गणना गर्न सजिलो होस् भनेर गत सालको बेलाको अनुभवलाई लिएर मतपत्रको रङ फेर्न लागिएको हो। कसैलाई आयोगका कामप्रति दुविधा छ भने आयोग त्यसलाई प्रष्ट पार्न तयार छ।’

बिहीबार २६ फागुन २०७८ ०५:३७ PM मा प्रकाशित

प्रतिक्रिया