×

  अण्डरवेर मलद्वारमा लुकाएर सुन तस्करी 

images

प्रतिक्षा आचार्य/ नेपाल न्यूज बैंक

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आगमन कक्षबाट बाहिँरिदै गरेका भारतीय नागरिक ३९ बर्षीय मोहम्मद कसिमले बोकेको ‘कार्टुन बक्स’ जब प्रहरीले फोर्यो । एकाएक चकित हुने तथ्य खुल्यो । किनकी बक्सको पत्रभित्र सुनका लेपन भेटिए । प्रहरीले बक्सभित्रका सबै पहेँला लेपन सकंलन गर्यो । तौलिँदा दुई किलो तीन सय ५० ग्राम अवैध सुन फेला पर्यो । गत ८ कात्तिकको घटना हो यो । उनी नेपाल एयरलाइन्सको जहाज हुँदै दुबईबाट विमानस्थल झरेका थिए । 

प्रहरीले अनुसन्धानलाई अझ केन्द्रीकृत गर्यो । पक्राउ परेका उनका शरिर खनतालासी भए। यहीक्रममा जब ‘एक्स रे’ मेसिनमा प्रहरीले उनलाई उभ्यायो । चकित पार्ने अर्को तथ्य खुल्यो। किनकी उनको मलद्धवारभित्र सुनका ‘क्याप्सुल’ फेला परे ।  शौचपछि ‘प्लाष्टिक’ले बेरिएका बेलना आकारका दुई वटा ‘क्याप्सुल’ उनीबाट प्रहरीले बरामद गरेको थियो । पहेँलो रङको अर्ध ठोस उक्त अवैध सुनको तौल २ सय ५० दशमलव ८५ ग्राम थियो । कुलमा उनले ६ सय ८० दशमलव ६७ ग्राम सुन तस्कर गरि नेपाल ल्याएका थिए । जसको बजार मुल्य ५९ लाख २० हजार ७९८ रुपैयाँ पर्छ । 

फ्लाई दुबईको उडानबाट गत २९ साउनमा सिन्धुपाल्चोक भोटेकोशी गापा–१ का २४ बर्षीय सोमबहादुर बिक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल उत्रिए । दुबईबाट आएका उनले लगाएको कपडा शंकास्पद देखियो । खोलेर हेर्दा उनको पाइन्ट र अण्डरवेयरभित्र लेप गरिएका अर्ध तरल अवैध सुन फेला परे । तौल लिँदा उनीबाट ४ सय १८ दमलव ३१० ग्राम सुन बरामद भएको थियो । जसको बजार मुल्य ३६ लाख ३८ हजार ६ सय ६३ रुपैयाँ पर्छ । 

गत ३० साउनमै पनि पाइण्ट र अण्डवेरमै लेप लगाइएका ५ सय ५४ दशमलव ४७० ग्राम अर्ध ठोस सुन बरामद भए । मोरङ पथरी शनिश्चरे नगरपालिका–४ का २८ बर्षीय रिवाज गजमेरले उक्त सुन दुबईबाटै तस्कर गरि ल्याएका थिए । उनी पनि फ्लाई दुबईकै उडानबाट बिमानस्थल झरेका थिए । बजार भाउ अनुसार उनले ल्याएको सुनको मुल्य ४८ लाख २३ हजार ४९ रुपैयाँ पर्छ । 

गत १५ बैशाखमा दुबईबाट आएको हिमालयन एयरको जहाज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल उत्रियो । विमानभित्र सरसफाईको जिम्मा पाएका थिए, सुनगाभा सप्लायर्सका कर्मचारी पाँचथर याङवरक गाउँपालिका–४ का २८ वर्षीय भिमकुमार माबोले । सरसफाईपछि फोहरको ट्रली लिएर उनी विमानबाट बारिए । र लगेर नुवाकोट तादी गाउँपालिका–५ का २७ बर्षीय सुमन तामाङलाई जिम्मा लगाए । काम सकेर उनीहरु जब बिमानस्थलबाट ‘इक्जिट’ हुँदै थिए,  चेकजाँचमा उत्रिएका प्रहरीले उनीहरुबाट दुई किलो तीन सय ३२ ग्राम सुनका बिस्कुट बरामद गर्यो । 

प्रहरीका अनुसार माबोले उक्त सुन फोहरसँगै विमानभित्रको शौचालयबाट लिएर आएका थिए  । अनुसन्धानपछि खुल्यो, उक्त सुन तस्करीमा माबो र तामाङसँगै दोलखा गौरीशंकर गापा–२ का ४१ बर्षीय हेमबहादुर थापा र सप्तरी सुरुङ्गा नपा– ४ का ३६ वर्र्षीय ताराकान्त चौधरी पनि संलग्न थिए । बरामद सुनको बजार मुल्य दुई करोड दुई लाख ८४ हजार आठ सय ७० रुपैयाँ पर्छ । 

सुनतस्करीका माथिका चारवटै घटना त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका हुन् । चारवटै घटनामा सुन दुबईबाट तस्कर भएर आएका छन् । तस्करीका तरिका चारवटै घटनामा पृथक  छन् । जसले पुष्टि गर्छ, तस्करीको पुरानो धन्दा यथावत नै छ । तर, रुपमा व्यापक फेरबदल आएको छ ।  नेपाल प्रहरी पनि यो तथ्यलाई स्वीकार गर्छ । प्रहरीका अनुसार बिमानस्थलबाट हुने सुन तस्करी रोकिएको छैन । तर, तौरतरिका फेरिएका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआईजी पोषराज पोखरेलले पाइन्ट र अण्डरवेयर मात्र नभई मलद्धवारमा समेत लुकाएर सुनको तस्करी हुदै आएको बताए । 

उनी भन्छन्र्– विदेशी र नेपाली नागरीकले सुनलाई विभिन्न रुपमा ल्याउने गरेका छन् । जस्तै– पेटमा राखेर, तरल तथा धुलो वनाएर, विस्कुट आकारमा सुन तस्कर हुने गेका छन् ।  सुटकेसको भित्र फल्स वटम भित्र लुकाएर,  अन्डरवएर र पाइन्टभित्र राखरे, कपडामा लेप लगाएर, मलद्वारभित्र राखेर पनि ल्याईएको पाईएको छ । तस्करले समय–समयमा तौरतरिका बदल्छन् । नयाँ–नयाँ आईडिया प्रयोग गर्छन् ।’
 

रोजगारमा गएका नेपाली भरियाका रुपमा प्रयोग

प्रहरीका अनुसार सुन तस्करमा बिशेषगरि बैदेशिक रोजगारमा दुबई गएका नेपाली कामदार प्रयोग हुँदै आएका छन् । भिजिट भिषामा दुबई जानेहरुले पनि सुन तस्कर गरि नेपाल ल्याउने गरेका छन् । प्रहरीको बुझाईमा जहाज हुँदै सुन ल्याउने सबै भरिया हुन् । यसको खास योजनाकार कि त दुबईमा छन्, कि नेपालमा । उनीहरुसम्म प्रहरी पुग्न सकेको छैन। 

यस बिषयमा केन्द्रीय प्रवक्ता डिआईजी पोखरेल भन्छन्– ‘भिजिट र वर्किङ भिसामा जाने  नेपाली कामदार तस्करीमा भरियाका रुपमा प्रयोग हुँदै आएका छन् । बिभिन्न तरिका अपनाए उनीहरुले सुन ल्याउँछन् । एयरपोर्ट बाहिर पुगेर धनीलाई जिम्मा लगाउँछन् । यसका लागि तस्करले उनीहरुलाई ठुलो प्रलोभन दिने गरेको देखिन्छ  । ’
बिमानस्थलबाट पक्राउ घटनाले पछिल्लो समय सुन भित्र्याउन विभिन्न नयाँ नयाँ तरिका अपनाएको पाइएको छ ।

यी घटनाले यसलाई पुष्टि गर्छ । प्रहरी भन्छ पछिल्ला अपरेशनमा अधिकांश तरल र धुलो सुन बरामद भएका छन् ।  ‘लिकुईड र धुलो चेकजाचका क्रममा आवाज आउँदैन । लुकाउन पनि सजिलो हुन्छ । कतिले त तेल र औषधिका  रुपमा पनि तस्कर गर्छन् । पत्ता लगाउन जटिल भएको हुँदा तस्करले यो बिधि प्रयोग गरेको हुनसक्छ ।’

तीन बर्षमा झण्डै साढे दुई अर्बको सुन बरामद 

नेपाल प्रहरीको केन्द्रीय तथ्यांक अनुसार पछिल्ला तीन बर्षमा मुलुकभरबाट  एक सय ४३ किलो सुन बरामद भएको  छ । जसको बजार मुल्य दुई अर्ब ४६ करोड ५ लाख ७३ हजार ८०३ रुपैयाँ रहेको छ । जसमध्ये अधिकांश सुन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बरामद भएका हुन् । 

तथ्यांक अनुसार आर्थिक बर्ष ०७५/७६ मा ५२ किलो सुन वरामद भएको थियो । जसको बजारमुल्य ३० करोड १७ लाख ५७ हजार ३ सय २७ रुपैयाँ रहेको छ । घटनामा एक सय १५ अभियुक्त पक्राउ परेका थिए । त्यस्तै, आव ०७६÷७७ मा ३० किलो सुन वरामद भएको थियो । जसको मुल्य २० करोड ३० लाख ५१ हजार १ सय ३१ रुपैयाँ पर्छ । घटनामा ३० अभियुक्त पक्राउ परेका थिए । 

आव ०७७/७८ मा २७ करोड ४ लाख २५ हजार २ सय ८० मुल्यको ३२ किलो सुन बरामद भयो । घटनामा ५३ अभियुक्त पक्राउ परेका थिए । आव ०७८÷७९ २३ किलो सुन वरामद भयो ।  ९७ करोड ४७ लाख ३९ हजार ९ सय ८९ मुल्य बराबरको उक्त सुन तस्करीमा  ८८ अभियुक्त पक्राउ परेका थिए । त्यस्तै, आव ०७९–८० को पुससम्म ७१ करोड ६ लाख ७६ रुपैयाँ मुल्य बराबरको ६ किलो सुन वरामद भएको छ । घटनामा तीन सय ३२ अभियुक्त पक्राउ परेका छन् । 
 

कोटा घटाइदाँ बढ्यो सुन तस्करी 

बिदेशी मुद्राको सन्चिति घटेको भन्दै सरकारले २२ फागुन ०७८ बाट प्रतिदिन १० किलो सुन मात्रै आयात गर्ने अनुमति दिएको छ । तर, बजारमा दैनिक ३० देखि ४० किलोभन्दा बढी सुनको माग छ । सिजनका बेला यो माग अझ बढ्ने हुन्छ । तस्करले बजारको यही मागमा खेलिरहेका छन् । पर्याप्त मात्रामा आपुर्ति हुन नसक्दा अवैध व्यापार गर्नेहरुले ठाउँ पाइरहेको  सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मानिकरत्न शाक्य बताउँछन् । 

उनी भन्छन्– पर्याप्त मात्रामा आपुर्तीको व्यवस्था भएन भने अनैतिक धन्दा गर्नेहरुले ठाउँ पाउँछन् । अवैध व्यापार मौलाउँछ । त्यसले सरकारको राजस्वलाई हानी गर्छ ।  वजारलाई पनि अस्वस्थ गराउँछ । कुनै व्यापारीले अवैध व्यापारी संग सुन कारोवार ग¥यो भने सरकारलाई एक किलामो साढे आठ लाख घाटा हुन्छ । यसले वजारलाई अस्वस्थ गराउछ । सिजनमा माग अनुसार परिपुर्ती गर्ने सके यसले दिर्गकालीन रुपमा नेपालको सुन वजारलाई अवैध व्यापार गर्ने चोरी तस्कर गर्ने नियन्त्रण गर्न सक्छौ । बजारमा प्रयाप्त नहुँदा कालोबजारी गर्ने गिरोहले  फाइदा उठाउँछन् ।’

शुक्रबार​ २७ माघ २०७९ १२:३४ PM मा प्रकाशित

प्रतिक्रिया