×

दशैँको मुखैमा १० विद्यार्थीको मृत्यु– सुदूरपश्चिम स्तव्ध, परिवारमा सन्नाटा, उद्धारमा सरकारको ढिलासुस्ती

images

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयबाट लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत इजरायल पुगेका १० जना विद्यार्थीको मृत्यु भएको छ । शनिबार हमासले इजरायलमा गरेको आक्रमणमा परि उनीहरूको मृत्यु भएको हो ।

इजरायलस्थित नेपाली दूतावासले दिएको जानकारीअनुसार धनुषाका आनन्द साह, कैलालीका नारायणप्रसाद न्यौपाने, दार्चुलाका लोकेन्द्रसिंह धामी, सुनसरीका राजेशकुमार स्वर्णकार, बझाङका गणेशकुमार नेपाली, दार्चुलाका दिपेशराज विष्ट, डोटीका राजन फुलरा, डोटीकै पदम थापा, सल्यानका प्रवेश भण्डारी र कैलालीका आशिष चौधरीको मृत्यु भएको छ । 

कञ्चनपुरका विपिन जोशी अहिलेसम्म बेपत्ता छन् भने सल्यानका विधान सेजुवाल, गोरखाका हिमाञ्चल कट्टेल, दाङका प्रविण डाँगीको अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै कैलालीका धनबहादुर चौधरी, कैलालीकै वीरेन्द्र चौधरी र सल्यानका प्रमोद केसी सकुशल रहेको दूतावासले जानकारी दिएको छ । धनबहादुर भने उपचारपछि आइतबार डिस्चार्ज भएका छन् । 

गाजानजिकै किब्बुजस्थित आलुमिम फार्ममा तालिमका लागि १७ जना विद्यार्थी सँगै थिए । तालिम चलिरहेकै बेला प्यालेस्टिनी हमास समूहको आक्रमण गरेको थियो । 

ती विद्यार्थीहरू सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल पुगेका थिए । एक महिनाअघि उनीहरू लर्न एण्ड अर्न (पढ्दै र कमाउँदै) कार्यक्रमका लागि त्यहाँ गएका थिए । 

परराष्ट्र मन्त्रालयले दिएको जानकारी अनुसार इजरायलमा केयरगिभरमा चार हजार पाँच सय जना नेपाली रहेका छन् । उनीहरू सुरक्षित रहेको मन्त्रालयले जनाएको छ । 

यसका साथै इजरायलमा नेपालका विभिन्न विश्वविद्यालयबाट झन्डै दुई सय ६५ जना विद्यार्थी अध्ययनका लागि पुगेका थिए ।

दशैँको मुखैमा सुदूरपश्चिम स्तब्ध, परिवारमा सन्नाटा 

नेपालीहरूको महानचाड वडादशैँ आउन अब तीन हप्तामात्रै बाँकी रहँदा सुदूरपश्चिम स्तब्ध बनेको छ । सुदूरपश्चिम विश्वविद्यालयबाट पहिलोपटक पढ्दै र कमाउँदै कार्यक्रमका लागि इजरायल पुगेका १० जना विद्यार्थीको मृत्यु भएको छ ।

हमासले इजरायलमा गरेको आक्रमणमा परी ती विद्यार्थीको मृत्यु भएको हो । एक महिनाअघि त्यहाँ पुगेका उनीहरूको निधनले सुदूरपश्चिम विश्वविद्यालयले ठूलो क्षति मोल्नु परेको छ । मृतकका आफन्तको भने रुवाबासी रोकिएको छैन । अनेकन् सुनौला सपना बुनेर इजरायल पुगेका विद्यार्थीका आफन्तको घरमा सन्नाटा छाएको छ ।  

सुदूरपश्चिम सरकारद्वारा मृतकका आफन्तलाई २ लाख 

इजरायलमा ज्यान गुमाएका सुदूरपश्चिमका विद्यार्थीका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले २ लाखका दरले राहत उपलब्ध गराउने भएको छ । 

मुख्यमन्त्री कमलबहादुर शाहले आज (सोमबार) एक विज्ञप्ति जारी गर्दै २ लाखका दरले राहत उपलब्ध गराउने घोषणा गरेका छन् । 

यसका साथै मुख्यमन्त्री शाहले मृतकहरूको शव नेपाल ल्याउन सहजीकरण गरिदिन संघीय सरकारलाई अनुरोध गरेका छन् । हालसम्म सम्पर्कविहीन रहेका र घाइते विद्यार्थीको उद्धार गरिदिन समेत उनले विज्ञप्तिमार्फत अनुरोध गरेका छन् ।

संघीय सरकारले १० लाख दिने 

संघीय सरकारले इजरायलमा मारिएका नेपालीको परिवारलाई १० लाख राहत दिने निर्णय गरेको छ ।

विद्रोही समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी मृत्यु भएका १० जना नेपाली विद्यार्थीको प्रत्येक परिवारलाई उक्त रकम राहत दिने निर्णय गरेको हो ।

परिवारलाई राहतस्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको सरकारकी प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । 

मृतक नेपाली विद्यार्थीको सम्मानमा मंगलबार राष्ट्रिय शोक

इजरायलमा ज्यान गुमाएका १० नेपालीको सम्मानमा सरकारले भोलि (मंगलबार) राष्ट्रिय शोकको घोषणा गरेको छ ।

आज (सोमबार) बेलुकी बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले मृतकप्रति श्रद्धान्जली अर्पण गर्नुका साथै भोलिका लागि राष्ट्रिय शोक घोषणा गरेको छ । 

दिवंगत हुनु भएकाका नेपालीहरुप्रति सम्मान व्यक्त गर्न २०८० असोज २३ गते राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरुमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

उनका अनुसार परराष्ट्र मन्त्रालयले इजरायल सरकारसँग समन्वय गरी मृतकहरुको शव यथाशिघ्र नेपाल ल्याउने तयारी समेत भएको बताइन् ।

उद्धारमा सरकारको ढिलासुस्ती 

घटना घटेको तीन दिन बितिसक्दा पनि सरकारले मृतकको शव नेपाल ल्याउन सकेको छैन । यसका साथै बेपत्ता तथा अलपत्र परेकाहरूको उद्धारमा ढिलाइ गरेको भन्दै सरकारको आलोचना भएको छ ।   

आज बसेको मन्त्रिपरिषद् बैठकले भने इजरायलस्थित नेपाली दूताबासले इजरायली सरकारसँग समन्वय र सहयोगमा वेपत्ता नेपालीको खोजीमा तीव्रता दिने र घाइतेहरूको उपचारका लागि समन्वय गर्ने निर्णय गरेको छ ।

दूताबासले स्वदेश फर्किन चहाने नेपालीहरूको विवरण अनलाइन माध्यमबाट संकलन गरेर परराष्ट्र मन्त्रालयमा पठाउन भनेको छ । यसरी नेपाल फर्किन चाहे नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको विमान चार्टर गरी यथाशीघ्र नेपाल ल्याउने निर्णय पनि भएको मन्त्री शर्माले बताइन् ।

सोमबार २२ असोज २०८० ०६:२३ PM मा प्रकाशित

प्रतिक्रिया