×

प्राणघातक रोग रेबिज : काभ्रेका १० व्यक्तिको स्वास्थ्यमा निगरानी

images

पनौती नगरपालिका–३ कुशादेवी सिमसारका १० जनालाई आज प्राणघातक रेबिजविरुद्धको दोस्रो खोप लगाइएको छ । स्थानीय स्वास्थ्य संस्थाले आफ्नो सम्पर्कमा राखी उनीहरूलाई घरमै स्वास्थ्य–निगरानीमा राखिएको जनाएको छ ।

दुई दिनअघि रेबिजबाट मृत्यु भएका युवाको सम्पर्कमा रहिआएका परिवारका सदस्यलगायतलाई ‘मात्रा’अनुसार खोप लगाइएको कुशादेवी स्वास्थ्यचौकीले जनाएको हो । चौकीप्रमुख प्रभुनारायण साहका अनुसार रेबिजका कारण बिहीबार स्थानीय २३ वर्षीय मदन सापकोटाको उपचारका क्रममा मृत्यु भएको थियो । उनका सम्पर्कमा आएकालाई घरमै स्वास्थ्य–निगरानीमा राखी दोस्रो खोप लगाइएको साहले बताउनुभयो । 

मृतक परिवारका अनुसार करिब छ महिनाअघि भक्तपुरको पाण्डु बजारमा सापकोटालाई कुकुरले टोकेको थियो । उक्त घटना लुकाएका सापकोटा केही साताअघि मात्रै बिरामी परेको र काभ्रेपलाञ्चोकको बनेपास्थित शिर मेमोरियल अस्पतालमा प्रारम्भिक उपचारपश्चात काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा लगिएको थियो । उपचारका क्रममा रेबिजकै कारण गत बिहीबार सापकोटाको मृत्यु भएको साहले जानकारी दिनुभयो । 

शतप्रतिशत प्राणघातक मानिएको उक्त रोगबाट गत वर्ष एक महिनाको अवधिमा काभे्रपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका–६ मा एक आठ वर्षीय बालक र दुई पुरुषको मृत्यु भएको थियो । कुकुरले टोकेका उनीहरू एक महिनापछि उपचारका क्रममा मृत्यु भएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धुलिखेलले जनायो । 

रेबिज लागेको कुकुर तथा अन्य जनावारले मानिसलाई टोकेमा मृत्यु निश्चित हुन्छ । त्यस्तै अघिल्लो आर्थिक वर्षको माघमा धुलिखेल नगरपालिका–४ का २२ वर्षीय एक युवकको रेबिज रोगबाट मृत्यु भएको थियो । ती युवालाई ढलमा खसेको सानो कुकुरलाई निकाल्ने क्रममा टोकेपछि परीक्षणमा रेबिज पोजेटिभ देखिएको थियो । 

युवकसहित मृत्यु भएका चारैलाई कुकुरले टोकेको कारण रेबिज रोग लागेको केन्द्रले जनाएको छ  । केन्द्रका अनुसार रेबिजका कारण २०७७ मङ्सिरमा धुलिखेल–४ कै एक गाईको समेत मृत्यु भएको थियो । उक्त गाईलाई पनि सङ्क्रमित कुकुरले नै टोकेको जनाइएको छ ।

एक वर्षअघि चौँरीदेउरालीमा रेबिजबाट मानिसको मृत्यु भएपछि केन्द्रले सामुदायिक तथा छाडा कुकुरसँग सावधानी अपनाउन आग्रह गर्दै आएको छ । साथै केन्द्रले सामुदायिक तथा छाडा कुकुरमा रेबिजको नमूना परीक्षणसमेत गरेको थियो । नमूना परीक्षण गरिएका कुकुरमा रेबिजको भाइरस भेटिएपछि चौँरीदेउरालीमा त्यसबेला रेबिजविरुद्धको २०० लाई भ्याक्सिन लगाइएको थियो । 

केन्द्रले प्राणघातक रोग रेबिजबाट मानिसको मृत्यु हुन थालेपछि जिल्लाका प्रमुख नगर बनेपा, धुलिखेल र पनौतीमा गरेको सर्भेबाट सात हजार ५०० सामुदायिक तथा छाडा कुकुर रहेको तथ्याङ्क सङ्कलन गरेको थियो । यसमध्ये तीन हजार कुकुरलाई बागमती प्रदेश सरकार तथा विभिन्न संस्थाको प्राविधिक तथा अन्य सहयोगमा रेबिजविरुद्धको भ्याक्सिन लगाउँदै स्थायी बन्ध्याकरणसमेत गरिएको केन्द्र प्रमुख राजकुमार हुमागाईँले बताउनुभयो । उहाँले भन्नुभयो, “बाँकी कुकुरलाई क्रमशः भ्याक्सिन लगाउँदै बन्ध्याकरण गरिने कार्यक्रम छ ।”

हुमागाईँका अनुसार जिल्लाको १३ स्थानीय तहमा कुकुरको सर्वेक्षण गर्दै भ्याक्सिन तथा बन्ध्याकरण कार्यक्रम विस्तार गर्दै लगिनेछ । सम्भावित जोखिम न्यूनीकरण गर्न केन्द्रमा भ्याक्सिन राखिएको छ । साथै केन्द्रले समय–समयमा सामुदायिक तथा छाडा कुकुरको स्थायी बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस्ता कार्यक्रममा सामुदायिक तथा घरपालुवा कुकुरलाई रेबिजविरुद्धको खोप तथा स्थायी बन्ध्याकरण गर्ने गरिएको छ ।

एक महिनाको अवधिमै प्राणघातक रोग रेबिजबाट काभ्रेपलाञ्चोकमा एक बालकसहित तीनको मृत्यु भएपछि यहाँका जनप्रतिनिधिले रेबिज रोगमुक्त जिल्ला बनाउने प्रतिबद्धतासमेत जनाएका थिए । कुकुरको टोकाइबाट हुने रेबिज रोगबाट मानवीय क्षति शून्य बनाउन जिल्लाका १३ स्थानीय तहका जनप्रतिनिधिले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका थिए । सामुदायिक र छाडा कुकुरलाई रेबिजविरुद्धको खोप र स्थायी बन्ध्याकरण तथा रोगबारे जनचेतना फैलाउँदा रोगको न्यूनीकरण गर्न सकिने जनाइएको छ ।

चिकित्सकका अनुसार सुरुमा घरपालुवा वा अन्य जनावरको ¥यालमा रहेका रेबिज भाइरस टोकाइबाट शरीरमा प्रवेश गर्दछ । भाइरस रगतबाट नभई छालामुनिको भित्री तन्तु र मांसपेशी हुँदै परिधीय स्नायु, मेरुदण्ड र अन्त्यमा गिदीसम्म पुग्ने र गिदी सङ्क्रमित भएपछि मात्रै लक्षण देखिन थाल्ने गर्दछ । मानिसमा यो रोग लागेपछि ढिलोचाँडो मृत्यु निश्चित हुने गर्दछ ।

स्वास्थ्य तथ्याङ्कानुसार नेपालमा बर्सेनि २०० बिरामीको रेबिजका कारण मृत्यु हुने गरेको छ । विश्वका १५० देशमा हरेक वर्ष रेबिज रोगबाट ५९ हजार मानिसले ज्यान गुमाउने गरेको तथ्याङ्क पनि छ । प्राणघातक रेबिज रोग नियन्त्रणका लागि अन्तर्राष्ट्रियरूपमा जनचेतना जगाउन तथा सरोकारवालबीच ऐक्यबद्धता प्रकट गर्न प्रत्येक अङ्ग्रेजी वर्षको सेप्टेम्बर २८ को दिनलाई ‘अन्तर्राष्ट्रिय रेबिज दिवस’का रूपमा मनाउने गरिएको छ । आगामी सन् २०३० सम्ममा विश्वमै रेबिज रोग उन्मूलन गर्ने लक्ष्यसमेत लिइएको छ । 

शनिबार २५ असार २०७९ ०९:१५ PM मा प्रकाशित

प्रतिक्रिया