×

जलाशययुक्त आयोजनामा लगानी गर्न बेलायतलाई ऊर्जामन्त्री भुसालको आग्रह

images

 ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज सोमवार भएको भेटमा उहाँहरूबीच नेपाल र बेलायतबीचको सम्बन्ध र सहयोगका विविध विषयमा छलफल भएको छ । 

भेटमा मन्त्री भुसालले नेपाल र बेलायत सरकारबीचको सम्बन्ध मात्र नभइ जनस्तरको सम्बन्ध पनि प्रगाढ रहेको बताउनुभयो । उहाँले कोभिड–१९ बाट सुरक्षित रहनका लागि बेलायत सरकारले नेपालाई पु¥याएको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो । मन्त्री भुसालले ऊर्जा सुरक्षाका लागि नेपालले जलाशययुक्त आयोजना निर्माणलाई विशेष प्राथमिकतामा राखेको उल्लेख गर्दै बेलायत सरकार र त्यहाँका निजी क्षेत्रलाई त्यस्ता आयोजनामा लगानी गर्न पनि आग्रह गर्नुभयो ।

नेपालले जलवायु परिवर्तनको नराम्रो असर भोगिरहेको उल्लेख गर्दै मन्त्री भुसालले भन्नुभयो, ‘जलवायु परिवर्तनको असर धेरै क्षेत्रमा देखिन थालेको छ । यो समस्या हाम्रो मात्र होइन, संसारको हो, यो विषयमा बेलायत सरकारको सहयोग रहने विश्वास लिएकी छु ।’  

यस्तै राजदूत पोलिटले बेलायत सरकारले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँग सहकार्य गरिरहेको र ऊर्जाका अन्य क्षेत्रमा पनि सहकार्य गर्न इच्छुक रहेको बताउनुभयो । उहाँले आउँदो हप्ता बेलायतका मन्त्री लर्ड अहमद नेपाल आउन लाग्नुभएको जानकारी गराउँदै मन्त्री लर्डसँगको भेटमा ऊर्जामा गरिने लगानीका विषयमा छलफल गर्न सकिने बताउनुभयो । 

सोमबार २६ बैशाख २०७९ ०४:५० PM मा प्रकाशित

प्रतिक्रिया