×

खाद्यवस्तुको विषादी परीक्षण अगाडि बढाउन सरकारको निर्देशन

images


काठमाडौं । मन्त्रीपरिषद् बैठकले खाद्य पदार्थमा जीवनाशक विषादीको अधिकतम सीमा निर्धारण गर्ने विषयमा थप छलफल गर्न सम्बन्धित समितिमा पठाउने निर्णय गरेको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षता बिहीवार सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन–०७१ लाई संशोधन गर्न बनेको विधेयक आजै प्रतिनिधिसभामा दर्ता गर्ने निर्णयसमेत गरेको छ ।

जीवनाशक विषादीको परीक्षणसम्बन्धि प्रस्ताव नेपाल राजपत्रमा प्रकाशन गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत १५ भदौमा मन्त्रिपरिषद् बैठकमा गरेको र २१ भदौमा आर्थिक तथा पूर्वाधार समितिमा छलफलका लागि पठाइएको भए पनि त्यसपछि थप प्रक्रिया अगाडि बढ्न सकेको थिएन । 

गत ४ मंसीरमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भएपश्चात् नयाँ सरकार गठन भएपछि पूरानो मन्त्रिपरिषदका निर्णय स्वतः फिर्ता जाने प्रचलनअनुरूप सो प्रस्ताव पनि फिर्ता गएको थियो । 
प्रधानमन्त्री प्रचण्डले नयाँ प्रस्ताव ल्याउन दिएको निर्देशनअनुरूप नयाँ प्रस्ताव प्राप्त भएपछि बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले फाइलमाथि थप छलफलका लागि समितिमा पठाउने निर्णय गरेको छ ।
 

बिहीबार २५ फागुन २०७९ ११:३९ AM मा प्रकाशित

प्रतिक्रिया