×

गुटैगुटमा विभक्त कांग्रेस

images

दाङ । नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य एवं दाङ इन्चार्ज निर्मल आचार्य जिल्लाको निर्वाचन नतिजा नेपाली कांग्रेसभित्र जिल्लामा रहेका गुटका हातमा रहेको बताउँछन्। कांग्रेसभित्रका सबै गुट इमानदार भए जिल्लाभरि नै लोकतान्त्रिक वाम गठबन्धनका सबै उम्मेदवारले सहजै चुनाव जित्ने उनी बताउँछन्। ‘जिल्लाको र गठबन्धनको पनि ठुलो पार्टी कांग्रेस नै हो,’ नागरिकसँगको कुराकानीमा आचार्यले भने, ‘तर कांग्रेस भने आफंैभित्र गुटैगुटमा विभक्त देखिन्छ। त्यसकै डरबाहेक गठबन्धनलाई दाङमा चुनाव जित्न समस्या हुन्न।’

उता प्रमुख प्रतिस्पर्धी एमाले सत्ता गठबन्धनमा देखिएको यही डरसँग सजग देखिन्छ। यही कारण कांग्रेसका असन्तुष्ट गुटकेन्द्रित रणनीतिमा एमाले महासचिव एवं दाङ २ का उम्मेदवार शंकर पोखरेल सक्रिय रहेको निकट स्रोत बताउँछ। ‘हाम्रो रणनीति नै कांग्रेसभित्रको असन्तुष्टि क्यास गर्ने र माओवादी केन्द्रमा घट्दै गएको मोहलाई आफूकेन्द्रित गर्दै लैजाने हो,’ पोखरेलनिकट एक जिल्लास्तरीय नेताले भने, ‘त्यसो नगरी हामी जित्ने अवस्था हुन्न नि १ यद्यपि राष्ट्रियस्तरको नेतालाई हुने सहजता त हुने नै भइहाल्यो।’ दुई फरक पार्टीका ‘डर’ र ‘रणनीति’ले पनि दाङको चुनावी अवस्थालाई चित्रण गर्छ। हरेक निर्वाचनमा अस्थिर नतिजा देखिँदै आएको दाङमा सधैं कांग्रेस नै शक्तिशाली रहेको इतिहास छ। तर निर्वाचनमा भने कांग्रेसले अनपेक्षित नतिजा बेहोर्दै आएको छ। दाङ कांग्रेसभित्र गुटका हाँगैहाँगा रहेका कारण त्यस्तो हुने गरेको जानकारहरू बताउँछन्।

जिल्लाभरि गुटैगुट

देशभरका सबैजसो जिल्लामा कांग्रेसका संस्थापन र इतर दुई गुट अस्तित्वमा देखिन्छन्। केन्द्रमा जस्तो नेतापिच्छेका अलगअलग गुट र गुटभित्रका पनि उपगुट अधिकांश जिल्लामा देखिन्नन्। तर दाङमा भने केन्द्रका गुटहरू जुन स्वरूपमा छन्, सोही स्वरूपमा दुरुस्तै अस्तित्वमा छन्। केन्द्रीयस्तरमा प्रभाव राख्ने एकएक नेता समातेर यहाँका नेताहरूले आ–आफ्ना गुट चलाइरहेका छन्। १४औं महाधिवेशनसम्म इतर समूहको नेतृत्व पूर्वमन्त्री एवं केन्द्रीय सदस्य दीपक गिरीले गर्थे। अहिले उनी पूर्वमहामन्त्री डा। शशांक कोइरालानिकट रहेर आफ्नै गुट चलाइरहेका छन्। इतर समूहमा डा। शेखर कोइराला र महामन्त्री गगन थापा समूहको अलग्गै गुट यहाँ अस्तित्वमा देखिन्छन्। जसमा जिल्ला सभापति शंकर डाँगी, अनिता देवकोटा, वीरकेशरी गौतमलगायत नेताहरू छन्।

यस्तै संस्थापन समूहका पनि छुट्टाछुट्टै गुटहरू छन्। जसमा सभापति शेरबहादुर देउवानिकट गुटको नेतृत्व केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरे र लुम्बिनी प्रदेशका मन्त्री डिल्ली चौधरीले गर्छन्। यस्तै उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री बालकृष्ण खाणनिकट नेताहरूका पनि अलगअलग गुट छन्। खड्कानिकट रहेर केन्द्रीय सदस्य गेहेन्द्र गिरी आफ्नै गुट चलाउँछन् भने खाणनिकट रहेर पूर्वसंविधानसभा सदस्य राजु खनालले गुट सञ्चालन गर्दै आएका छन्।

त्यसो त दाङ कांग्रेसमा बहुदलको स्थापनासँगै केन्द्रजस्तै दुई फरक गुट थिए। जसमा एउटाको नेतृत्व खुमबहादुर खड्काले गर्थे भने अर्को गुटको नेतृत्व बलदेव शर्मा मजगैयाँले गर्थे। खड्काले कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहनिकट रहेर गुट चलाउँदा मजगैयाँ गिरिजाप्रसाद कोइरालाका विश्वासपात्र थिए। नागरिक दैनिकबाट

मङ्गलबार २२ कात्तिक २०७९ ०८:३६ AM मा प्रकाशित

प्रतिक्रिया