×

सिञ्जामा खस पात्रो लागू

images


जुम्ला, २२ भदौ : नेपाली खस भाषाको जन्मथलोका रुपमा रहेको जुम्लाको सिञ्जा गाउँपालिकाले पालिकाभित्र जुम्लेली खस भाषाको पात्रो लागू गरेको छ । 

    गाउँपालिकाको ऐतिहासिक धार्मिकस्थल केदार महोत्सवमा कर्णाली प्रदेश सरकारका उपसभामुख यशोदा न्यौपानेबाट खस पात्रो सार्वजजिक गरिएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिनुभयो ।

    खस भाषाको संरक्षण र प्रवद्र्धनका लागि उक्त पात्रो पालिकामा लागू भई सञ्चालनमा आएको छ । गाउँपालिकाले सार्वजनिक गरेको खस पात्रोमा राष्ट्रिय क्यालेण्डरलाई प्रवद्र्धन गर्ने उद्देश्यले खस भाषामा महिनासमेत उल्लेख गरिएको छ । 

    गाउँपालिका अध्यक्ष धितालले भन्नुभयो, “खस पात्रोमा खस संस्कृति झल्किने कार्यक्रम देउडा, हुड्के नाच, खस पहिरन, यहाँका मार्सी धानखेतीसहित बालीहरु, पुरातात्विक संरचना, ऐतिहासिक सिञ्जा उपत्यका, केदारनाथ क्षेत्रलगायत विभिन्न स्थान दस्तावेजीकरण गरिएको छ ।” 

    सोही पात्रोमा खस भाषाअनुसार महत्वपूर्ण तिथिमिति र दिवस पनि उल्लेख गरिएको गाउँपालिका उपाध्यक्ष शीतली रोकायाले जानकारी दिनुभयो । कक्षा १ देखि ३ सम्म  खस भाषाबाट पढाइसमेत हुने गरेको छ । ४ देखि ८ कक्षासम्म खस भाषाको पाठ्यक्रम तयार भइसकेको छ । आगामी वर्षको शैक्षिक सत्रबाट पढाइ गरिने गाउँपालिकाका शिक्षा शाखा प्रमुख शङ्कर धितालले बताउनुभयो । 

शुक्रबार​ २२ भदौ २०८० ०३:२३ PM मा प्रकाशित

प्रतिक्रिया