×

जङ्गलमा आगो निभाउँदा एकको मृत्यु, एक गम्भीर घाइते

images

पश्चिम म्याग्दीको मालिका गाउँपालिका–५ मा पर्ने भिरखर्क सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ । 

आगो निभाउने क्रममा आज दिउँसो ३ बजे २६ वर्षीय मनबहादुर बोहराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । सोही आगलागीमा परी मृतक बोहराका भाइ २१ वर्षीय बोहरा घाइते हुनुभएको छ । सोमबर रातिदेखि लागेको आगो नियन्त्रणमा आउन सकेको छैन । जङ्गलमा लागेको आगो बस्तीमा आउन थालेपछि आगो निभाउने क्रममा मनबहादुरको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक तथा सूचना अधिकारी वीरेन्द्रराज गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार मृतक मनबहादुरका भाइको स्वास्थ्य अवस्था पनि गम्भीर रहेको छ । इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरी टोली, स्थानीयवासी, युवा क्लब, लायन्स क्लब, रेडक्रसकर्मीको सहयोगमा उद्धार गरी घाइते बोहोरालाई प्राथमिक स्वास्थ्य केन्द्र दरबाङमा ल्याइएको छ ।

प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि घाइतेलाई थप उपचारको लागि हेलिकप्टरमार्फत काठमाडौँ लैजाने तयारी भइरहेको लायन्स क्लब अफ म्याग्दी दरबाङका अध्यक्ष अमृत सापकोटाले जानकारी दिनुभयो । दरबाङ बजारवासी, लायन्स क्लब, दरबाङ विपद् व्यवस्थापन समिति, जनप्रतिनिधिपद्, सङ्घ संस्था र स्थानीयवासीको सहयोगमा प्रभु हेलिकप्टरमार्फत काठमाडौँ लैजाने तयारी भइरहेको उहाँले बताउनुभयो ।

मङ्गलबार २४ फागुन २०७८ ०९:५१ PM मा प्रकाशित

प्रतिक्रिया