×

प्रधानमन्त्री प्रचण्ड-ओली भेटवार्ता- उच्चस्तरीय संयन्त्रको बैठकमा राष्ट्रपतिबारे छलफल गर्न सहमत

images

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको छलफल सकिएको छ। ओली निवास बालकोटमा भएको भेटवार्तामा उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने सहमति भएको हो।

भावी राष्ट्रपतिको विषयमा सत्तारुढ दल नेकपा एमाले अध्यक्ष  ओली र माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डबीच लामो छलफल भएको थियो । सोमबारयता प्रचण्ड र ओलीबीच दैनिक जसो भेटवार्ता भइरहेको छ ।  आज एमाले अध्यक्ष ओली निवास बालकोटमा दुई नेताबीचको कुराकानीमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएर छलफल गर्न दुवै नेता सहमत भएका छन् ।

‘उच्चस्तरीय संयन्त्रको बैठक बस्छ । त्यो बैठकमा राष्ट्रपतिबारे छलफल हुन्छ, सहमतिबाटै अघि बढ्ने प्रयास हुन्छ’, बालकोटबाट बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले प्रतिक्रिया दिए । आगामी फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि सत्तारुढ एमाले र कांग्रेसले आआफ्नै उम्मेदवार उठाउने तयारी गरेका छन् । एमाले र कांग्रेसले फरक फरक उम्मेदवार उठाउने भएपछि सत्तारुढ दल एमाले र माओवादीको राष्ट्रपतिबारे फरक फरक धारणा सार्वजनिक भइरहेका छन् ।

गठबन्धनमा अविश्वासको वातावरण बढ्दै गएपछि दुई नेताको भेटघाट बाक्लिन थालेको छ। नेपाली कांग्रेसले माओवादीलाई फकाउन विभिन्न निर्णय गर्दै आएपछि भावी राष्ट्रपतिको विषयलाई लिएर एमालेमा आशंका उत्पन्न हुँदै गएको नेताहरूले बताउँदै आएका छन्।

नेकपा एमालेले पुस १० को सहमति अनुसार राष्ट्रपति एमालेको हुने बताउँदै आएको छ भने प्रधानमन्त्री प्रचण्डले सकभर राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्नुपर्ने बताउँदै आएका छन् । जवाफमा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले बाहेकका उम्मेदवारमा राष्ट्रिय सहमति हुन नसक्ने बताउँदै आएका छन् ।

पुस २६ मा प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिएपछि झस्किएको एमाले कांग्रेसले पनि राष्ट्रपति पदमा उम्मेदवारी दिने र आफ्नै उम्मेदवार विजयी हुने दाबी गरेपछि माओवादीप्रति सशंकित बन्दै गएको  बेला उच्चस्तरीय राजनीतिक संयन्त्रकाेे बैठक बस्ने सहमति भएकाे हाे। 

 

बुधबार २५ माघ २०७९ १२:१८ PM मा प्रकाशित

प्रतिक्रिया