×

अर्थतन्त्र सुधारका लागि प्रधानमन्त्रीको निर्देशन-  गलत गर्ने कसैलाई नछोड्नुस् 

images

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजस्व संकलनका क्षेत्रमा देखिएका चुनौती समाधान गर्न निर्देशन दिएका छन् ।  बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबार राजस्वको अवस्था र चुहावट नियन्त्रण सम्बन्धि छलफलमा बोल्दै प्रधानमन्त्रीले, राजस्व चुहावट नियन्त्रणका लागि क्रमभंग गर्न राजस्व प्रशासनका अधिकारीहरूलाई निर्देशन दिएका हुन्। 

 “राजस्व संकलनमा अहिले पनि केही समस्याहरू छन् । राजस्वको दायरा बढाउने र चुहावट नियन्त्रणको कार्यलाई एकैसाथ अगाडि बढाउन जरूरी छ ।”  प्रधानमन्त्रीले भने “नीतिगत सुधारको प्रयत्नबाट यी कामहरू अगाडि बढाउन सकिन्छ । चुहावट नियन्त्रणका लागि राजस्व प्रशासनलाई सुदृढ र समन्वयात्मक बनाउनुपर्छ । यसमा हामीले विशेष जोड दिन आवश्यक छ” ।

राजस्व छली गर्ने ठूलो शक्तिलाई नछुने तर सानालाई मात्र छुन्छन् भन्ने आम गुनासो  रहेको भन्दै प्रधानमन्त्रीले अर्थतन्त्रलाई नकारात्मक प्रभाव पार्ने ठूलालाई नियमन र नियन्त्रण गर्न विशेष जोड लगाउनु पर्ने बताए । 

ठूला बदमासीहरू नियन्त्रण गरेपछि साना बदमासीहरू क्रमशः न्यूनिकरण हुने उनको भनाई छ ।  बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले राजस्व संकलन र चुहावटका क्षेत्रमा हुनसक्ने सम्भावित मिलेमतोलाई चेन ब्रेक गर्ने गरी कार्यविभाजन गर्न निर्देशन दिइसकेको बताए । 

बैठकमा राजस्वसँग सम्बन्धित सरकारी निकायका प्रमुखहरूले देशको अर्थतन्त्रको आजको अवस्था, अर्थतन्त्रका चुनौतीहरू, राजस्व संकलनको अवस्था, राजस्व चुहावट नियन्त्रणमा सरकारले चाल्नुपर्ने कदम र आगामी कार्ययोजनाबारे भनाई राखेका थिए । 

बुधबार २५ माघ २०७९ १२:३५ PM मा प्रकाशित

प्रतिक्रिया