काठमाडौं, असार २२ । नबिल बैंक लिमिटेडले दिगो बैंकिङ अभियान सुरु गरेको पाँच वर्ष पूरा भएको अवसरमा सञ्चालन गरेको साताव्यापी ‘नबिल ग्रिन विक–२०२६’ वृक्षारोपण कार्यक्रमका साथ समापन गरेको छ।
बैंकले गत असार १५ गतेदेखि सुरु गरेको यस वातावरणीय अभियान अन्तर्गत आइतबार काठमाडौंको टोखा नगरपालिका–२ स्थित गले पार्कमा २०० वटा एभोकाडोका बिरुवा रोपेको छ। नबिल बैंक र लुम्बिनी वर्ल्ड पिस फोरम नेपालको संयुक्त सहकार्यमा भएको यस कार्यक्रममा रोपिएका बिरुवाहरूको संरक्षण र नियमित हेरचाह गर्ने जिम्मेवारी स्थानीय टोखा–२ वडा कार्यालयले लिएको छ।
वृक्षारोपण कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (CEO) मनोजकुमार ज्ञवाली, बैंकका कर्मचारीहरू, स्थानीय बासिन्दा तथा टोखा–२ का वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठ लगायतको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले बैंकको दिगो बैंकिङप्रतिको प्रतिबद्धतालाई व्यवहारमा उतार्न यो वृक्षारोपण गरिएको बताए। "वातावरण संरक्षणका यस्ता अभियानलाई सफल बनाउन स्थानीय सरकार, साझेदार संस्था र समुदायबीचको सहकार्यलाई थप सुदृढ बनाउँदै लैजानुपर्छ," ज्ञवालीले भने, "बिरुवा रोपेर मात्र पुग्दैन, त्यसको वास्तविक संरक्षण र नियमित हेरचाहमा स्थानीय समुदायको सक्रिय भूमिका सबैभन्दा महत्त्वपूर्ण हुन्छ।"
'मानिस, पृथ्वी र समृद्धि' (People, Planet, and Prosperity) को अवधारणामा आधारित नबिल दिगो बैंकिङ अभियान अन्तर्गत बैंकले 'नबिल दिगो बचत खाता' मार्फत ग्राहकहरूलाई पनि दिगो विकासका प्रयासहरूमा जोड्दै आएको छ।
पछिल्लो पाँच वर्षको अवधिमा बैंकले दिगो बैंकिङलाई रणनीतिक प्राथमिकतामा राख्दै विभिन्न उत्पादनशील र पर्यावरणीय क्षेत्रमा ठूलो लगानी गरेको विवरण सार्वजनिक गरेको छ:
नवीकरणीय ऊर्जा: रु. ५१ अर्ब ८३ करोड
कृषि क्षेत्र: रु. ५४ अर्ब २८ करोड
एमएसएमई (MSME) क्षेत्र: रु. ४५ अर्ब ७७ करोड
महिला उद्यमशीलता वित्तपोषण: रु. ४८ अर्ब ६० करोड
स्वच्छ यातायात (Clean Transport): रु. १० अर्ब २८ करोड
पर्यटन क्षेत्र: रु. ११ अर्ब ८ करोड
डीडीएसएल (DDSL) कर्जा: रु. ५ अर्ब ८४ करोड
बैंकका अनुसार यी कर्जा तथा लगानीहरूबाट मुलुकभित्र १ लाख १२ हजारभन्दा बढी रोजगारी सिर्जना भएको छ, जसमा महिलाको सहभागिता ३१ प्रतिशत रहेको छ।
नबिल बैंकले सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत पछिल्लो पाँच वर्षमा २५ करोड ६० लाख रुपैयाँ खर्च गरेको छ। साथै, 'नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप' (Nabil SSE) मार्फत १ हजार ५७७ जना सामाजिक उद्यमीहरूलाई तालिम प्रदान गरिसकेको छ।
डिजिटाइजेसन (Digitization) प्रवर्द्धनमार्फत बैंकले २० मेट्रिक टनभन्दा बढी कागज बचत गरेको छ भने स्वचालित प्रणालीमार्फत वार्षिक २ लाख ६२ हजार ८०४ लिटर पानी बचत भइरहेको छ। त्यस्तै, नवीकरणीय ऊर्जाका परियोजनाहरूमा गरिएको लगानीका कारण विगत चार वर्षमा करिब ३९ हजार ४५० टन कार्बन उत्सर्जन न्यूनीकरण गर्न सहयोग पुगेको बैंकले जनाएको छ।
हाल नबिल बैंकमा कुल कर्मचारीमध्ये ३९.१५ प्रतिशत महिला कार्यरत छन् भने ५० जना महिला कर्मचारीले विभिन्न शाखा तथा रणनीतिक व्यावसायिक इकाइहरूको नेतृत्व सम्हालिरहेका छन्। बैंकले आफ्ना व्यावसायिक अभ्यासहरूमा वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापन (ESRM) प्रणाली पूर्ण रूपमा लागू गर्दै अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको ESG (Environmental, Social, and Governance) अभ्यासलाई सुदृढ बनाएको छ।
हाल नबिल बैंकले देशभर २६६ शाखा र ३१८ एटीएम मार्फत २५ लाखभन्दा बढी ग्राहकहरूलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
प्रतिक्रिया