×

लेकालीलाई "बीडी त्यागी स्मृति सम्मान" 

images

बीडी त्यागी स्मृति केन्द्रले "बीडी त्यागी स्मृति सम्मान २०८०" साहित्यकार राधेश्याम लेकालीलाई प्रदान गर्ने निर्णय गरेको छ । लेकाली यसअगि ५ दर्जन बढी राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाहरुबाट सम्मानित भइसकेका छन् । लेकालीका १ दर्जन बढी कृतिहरु र विभिन्न सम्पादनका कृतिहरु प्रकाशित रहेका छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व केन्द्रीय अध्यक्ष लेकाली हाल साहित्यिक पत्रकार संघ, शंकर लामिछाने प्रतिष्ठानका अध्यक्ष हुनुहुन्छ । 

केन्द्रका अध्यक्ष कृष्ण आचार्यको अध्यक्षतामा आज २०७९ चैत २४ बिहान बसेको कार्यसमिति बैठकले सो निर्णय गरेको हो । 

यसैगरी एक सय एक रुपैयाँको सिक्काको थैली रहेको "बीडी त्यागी स्मृति पुरस्कार" साहित्यकार रामचन्द्र दाहाललाई, "बीडी त्यागी योगदान सम्मान" प्रकाशक तथा साहित्यकार रामदेव पाण्डे र "बीडी त्यागी प्रतिभा सम्मान" साहित्यकार सरु पोखरेललाई प्रदान गर्ने पनि निर्णय गरेको छ । 

यसरी नै केन्द्रले हरेक वर्ष साहित्यिक गतिविधि र उत्थानका लागि अनुकरणीय कार्य गर्ने गैरसाहित्यिक व्यक्तित्वलाई दिइने नेपथ्य सम्मान यसपटक बुढानिलकण्ठ नगरपालिका १२ नम्बर  वडाका वडा अध्यक्ष शम्भु भट्टराईलाई प्रदान गर्ने भएको छ । 

सो निर्णय उपन्यासकार शङ्कर भारती संयोजक र साहित्यकार गङ्गा पौडेल र सस्थाका महासचिव साहित्यिक पत्रकार निबन्ध आचार्य सदस्य रहेको तीन सदस्यीय प्रतिभा चयन समितिको सिफारिसको आधारमा प्रतिभा चयन गरिएको केन्द्रले जनाएको छ । 

आगामी बैशाख १८ गते साहित्यकार बीडी त्यागीको बीसौं स्मृति दिवसको अवसरमा एक कार्यक्रमबीच सम्मान अर्पण गरिने अध्यक्ष कृष्ण आचार्यले बताउनु भयो । 

१०८ स्वामी गोपालानन्द गिरी परिचयात्मक काव्य, बन्द झ्यालको शिशाभित्र कथासङ्ग्रह, उत्पात हास्यव्यङ्ग्य उपन्यास, बैराग्य नाटक, शुभेच्छा कवितात्मक एल्बम, अठार अध्याय गीता महात्म्य, धोती न टोपी लोककथासङ्ग्रह, समृद्धि सपना राजनैतिक उपन्यास, चार थुम्का उपन्यास कृतिहरु प्रकाशित भएका साहित्यकार बीडी त्यागीको २०६० साल बैशाख १९ गते ६४ वर्षको उमेरमा निधन भएको थियो ।

उहाँको निधन भएपछि उहाँको सम्झनामा स्थापना गरेको बीडी त्यगी स्मृति केन्द्रले हरेक वर्ष स्मृति दिवसमा सम्मान अर्पण गर्दै आएको छ । हालसम्म सयभन्दा बढीले त्यागी स्मृति सम्मान प्राप्त गरिसक्नु भएको छ भने उहाँको हीरक जन्मजयन्तीको अवसरम एकै पटक पचहत्तर जना स्रष्टाहरुलाई त्यागी हीरक जयन्ती सम्मान प्रदान गरिएको थियो ।

शुक्रबार​ २४ चैत २०७९ ०८:०० PM मा प्रकाशित

प्रतिक्रिया