काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी आम निर्वाचनपछि मुलुकमा एमालेको एकल सरकार बन्ने बताएका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आयोजित ‘नवयुग’ ई-बुलेटिन विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘हामी निर्वाचनको प्रतीक्षामा छौँ । निर्वाचन हुनेबित्तिकै नेकपा एमाले सत्तामा आउँछ । अब बन्ने सरकार एमालेको सरकार हो ।’
उनले पुराना दलहरूको विकल्प खोज्ने चर्चा भइरहेको सन्दर्भमा पनि एमालेको पुनरागमन भने निश्चित रहेको जिकिर गरे । ‘अरू कोही आउँछन् कि आउँदैनन् मलाई थाहा छैन, तर एमाले चाहिँ पक्का आउँछ,’ ओलीले भने ।
‘अनि को फर्कने त ? अब सरकार कसको रे ? यसमा पनि दुविधा हुने ? आगो लगाएर सरकार बनाउने ? फेरि पनि यस्तै गरेर सरकार बनाउने ? अब फेरि हाहुकै भरमा सरकार बन्छ ? पार्टीको नबनेर,’ ओलीले भने, ‘अनि उनै पूराना नेता आउने रे ? केही थाहा नपाएका चाहीँ पुराना किन आएका त ? हामी चाहीँ बुढा हुने । म भन्दा साँढे तीन महिनामात्रै कान्छि चाहीँ, जित्नु न सित्नु उसै प्रधानमन्त्री हुँ भन्ने ?’
कार्यक्रममा ओलीले निर्वाचनको मिति जतिसुकै ढिला भए पनि एमाले सशक्त रूपमा सत्तामा फर्किने विश्वास व्यक्त गरे । कार्यक्रममा बोल्दै ओलीले प्रधानमन्त्री कार्कीले आफूलाई पक्राउ गर्नका लागि सम्पत्ति शुद्धीकरण विभागको नेतृत्व नै परिवर्तन गरेको जिकिर समेत गरे।
उनले सम्पत्ति शुद्धीकरण विभागमाथि प्रधानमन्त्री कार्कीले आफूलाई पक्राउ गर्न बारम्बार दबाब दिँदा पनि नमानेपछि त्यहाँका प्रमुखलाई सरुवा गरेर आफू अनुकूलको व्यक्ति ल्याएको बताए।
अध्यक्ष ओलीले प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रश्न उठाउँदै भने, "प्रधानमन्त्रीजी भन्नुहुन्छ– प्रमाण तयार गर्नुन, प्रमाण तयार। मैले थुप्रै ठाउँमा भनेको छु– प्रधानमन्त्रीजीले सम्पत्ति शुद्धीकरण विभागका प्रमुखलाई बोलाएर तीन पटक मुद्दा चलाउनुस्, प्रमाण जुटाउनुस्, केही गर्नुस्, गिरफ्तार गर्नु पऱ्यो भन्ने माग गर्नुस् भनेर अनेक दबाब दिनुभयो।"
उनले त्यहाँका निर्देशकले "झुटो कामहरू म गर्न सक्दिनँ, गैरकानूनी काम पनि गर्न सक्दिनँ" भनेपछि निर्देशकलाई तुरुन्त हटाइएको र अर्को निर्देशक ल्याइएको बताए। "प्रधानमन्त्री यस्तो हुनुहुन्छ भने यो भन्दा दुःखद स्थिति के हुन्छ?" ओलीले प्रश्न गरे।
अध्यक्ष ओलीले सरकारले राजदूत फिर्ता गरेर गर्नै नहुने काम गरेको आरोप समेत लगाए। उनले सरकार अवैधानिक भएको भन्दै यसले अध्यादेश ल्याउने काम गर्न नहुने पनि बताए।
प्रतिक्रिया