×

पर्यटन क्षेत्रका समस्या समाधान गर्न कांग्रेस लाग्नेछ : महामन्त्री थापा

images

काठमाडौँ, २० भदौ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पर्यटन क्षेत्रमा देखिएका समस्या समाधानमा कांग्रेस लाग्ने बताउनुभएको छ । पार्टीको शुभेच्छुक संस्था लोकतान्त्रिक पर्यटन व्यवसायी सङ्घले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले पर्यटन क्षेत्रमा देखिएका समस्या समाधानमा पार्टी लाग्ने विश्वास व्यक्त गर्नुभयो ।

 “पार्टीको तर्फबाट छिट्टै पर्यटन व्यवसायीसँग बसेर अन्तक्र्रिया तथा छलफल गरेर यसभित्र देखिएका समस्या समाधानमा लाग्नेछौँ”, उहाँले भन्नुभयो । उहाँले पर्यटन व्यवसायीले पार्टीलाई गरेको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्नुभयो ।

महामन्त्री थापाले पार्टीले पहिलोपटक पार्टीका संस्थापक नेता जननायक विश्वेश्वरप्रसाद कोइरालाको साहित्यिक योगदानको चर्चा गर्न विपी साहित्य सम्मेलन गर्न लागेको बताउँदै उक्त कार्यक्रममा सहयोग र सहभागिताका लागि पर्यटन व्यवसायलाई आग्रह गर्नुभयो ।

कांग्रेस धादिङका पूर्वसभापति एवं पर्यटन व्यवसायी रमेश धमलाले नयाँ आउन लागेको पर्यटन ऐनका बारेमा घनिभूत छलफल गरेर अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो । उहाँले पछिल्लो समय पर्यटन व्यवसायीको कुरा पार्टीले सुन्न थालेको भन्दै खुसी व्यक्त गर्नुभयो ।

लोकतान्त्रिक होटल व्यवसायी सङ्घका संयोजक दीपक महतले नेपालको समग्र पर्यटन क्षेत्रको विकासका लागि लोकतान्त्रिक पर्यटन व्यवसायी लागेको भन्दै यसलाई पार्टीले सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले लोकतान्त्रिक पर्यटन व्यवसायी सङ्घको कार्यसमितिलाई विस्तार गरेर आफूले निर्वाचन गराउन चाहेको स्पष्ट पार्नुभयो ।

वरिष्ठ पर्यटन व्यवसायी आङछिरिङ शेर्पाले कांग्रेसले पर्यटन क्षेत्रलाई बुझ्न नसकेको गुनासो गर्नुभयो । नेपालमा महामारीको समयमा पर्यटन व्यवसायीले खेलको भूमिका राज्यले स्मरण गर्नुपर्ने उहाँको भनाइ थियो । कार्यक्रममा पर्यटन व्यवसायी राकेश धमला, खुमबहादुर सुवेदी, कुलबहादुर गुरुङ, नीलहरि बाँस्तोला, गीता गुरुङ, मोहन लम्साल, राजीव पाण्डेलगायतको सहभागिता थियो । 

बुधबार २० भदौ २०८० ०९:१२ PM मा प्रकाशित

प्रतिक्रिया