×

पलले जबर्जस्ती करणी मुद्दामा पाए सफाइ, बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्षको कैद सजाय

images

चितवन। जिल्ला अदालत, नवलपुरले अभिनेता पल शाहलाई बलात्कारको मुद्दामा सफाइ दिएको छ भने  बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्षको कैद र २५ हजार रुपैयाँ जरिवाना सुनाएको छ ।

यज्ञप्रसाद आचार्यको इजलासले पीडित बालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन भनेको छ भने अभिभावक र मिडियालाई पनि सचेत गराएको अदालतका सूचना अधिकारी लालबहादुर क्षेत्रीले जानकारी दिए । बलात्कारको मुद्दाबाट सफाई पाएपनि पूर्ण विक्रम शाह अर्थात् पल शाह बाल यौन दुरुपयोगमा भने दोषी ठहर भएका छन् ।

उनलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २२५ को कसुरमा दोषी ठहर गर्दै २ वर्ष ६ महिना जेल सजाय समेत हुने फैसलामा उल्लेख गरिएको छ । साथै पीडकबाट पीडितलाई १० लाख क्षतिपूर्ति भराउने र २५ हजार रुपैयाँ जरिवाना गराउने फैसलासमेत भएको छ । दफा २२५ अनुसार बालयौन दुरुपयोग गरेमा ३ वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ ।

गत ११ फागुनमा नावालिक माथी पटक पटक जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँ र नवलपुरमा उजुरी परेको थियो । त्यसको ४ दिन पछि अभिनेता शाहले १५ फागुनमा जिल्ला प्रहरी कार्यालय, तनहुँमा आत्मसमर्पण गरेका थिए । त्यसपछि शाह तनहुँ जिल्ला प्रहरी कार्यालयमा थुनामा छन् । 

मङ्गलबार २१ भदौ २०७९ ०८:२२ PM मा प्रकाशित

प्रतिक्रिया